सोमबार, वैशाख २४, २०८१

‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई

नेपालखोज २०८० वैशाख १६ गते ९:३०

खोटाङ । ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभा पोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ ।

खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

खोटेहाङ–३ सावाकटहरेस्थित सावा काली माध्यमिक विद्यालयको मैदानमा शुक्रवार सम्पन्न पुरुष भलिबल प्रतियोगिताको विजेता सभा पोखरी–३ ले रु एक लाख १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । सो स्पर्धामा भोजपुरको रामप्रसाद राई–५ मानेभञ्ज्याङ्ग दोस्रो भई रु ७० हजार प्राप्त गर्‍यो ।

पुरुषतर्फ विभिन्न जिल्लाका २६ टोलीले भाग लिएका थिए । तेस्रो भएका बराह पोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले रु ३५÷३५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसै गरी महिलातर्फको विजेता रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले रु ७५ हजार, दोस्रो हुने भोजपुरकै आम चोक गाउँपालिका–९ दुम्मानाले रु ४० हजार तथा तेस्रो हुने बराह पोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले रु २५/२५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी सभा पोखरीका दिलबहादुर विष्ट, उत्कृष्ट लिफ्टर सभा पोखरीकै गजेन्द्र राई र उत्कृष्ट स्पाइकर रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङ घोषित भए ।

यसै गरी महिलातर्फ सर्वोत्कृष्ट रामप्रसाद राई गाउँपालिकाकी ममता राई, उत्कृष्ट लिफ्टरमा रामप्रसाद राई गाउँपालिकाकै मनकला राई र उत्कृष्ट स्पाइकरमा आम चोककी आरुशा तामाङ घोषित भए । उनीहरूलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

विजेता खेलाडीलाई गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

यसअघि गत वर्ष सम्पन्न भएको चौथो संस्करणको पुरुषतर्फको भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडा तथा महिलातर्फको उपाधि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले जितेको थियो ।

प्रतिक्रिया