सोमबार, असार २३, २०८२

द्वन्द्वपीडितलाई राहत वितरण

नेपालखोज २०८० वैशाख १६ गते १२:३१

नेपालगन्ज । बर्दियाको राजापुर नगरपालिकाले स्थानीयरुपमा कार्यविधि बनाएर द्वन्द्वपीडितलाई राहत वितरण गरेको छ ।

राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९/८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक रु दुई हजार भत्ता वितरण गरेको जानकारी दिए ।

‘परिवर्तनको आन्दोलनमा योगदान गरेका बेपत्ता परिवारलाई थोरै भए पनि यसले राहत दिएको छ’, उनले भने । प्रमुख चौधरीले राज्यबाट अर्को व्यवस्था नहुन्जेल निरन्तर भत्ता वितरण हुने उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन योजना निर्माण र बजेटको प्रबन्ध गरिने बताए ।

नगरपालिकाले द्वन्द्वपीडितलाई सबल बनाउन विभिन्न तालिमदेखि आयआर्जनका कार्यक्रमका लागि रु ६५ लाख बजेट छुटाएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट हुने आम्दानी करिब रु सात करोड रहेको बताइएको छ ।

राजापुरकी द्वन्द्वपीडित रविना चौधरीले आफूहरूले सम्मानित जीवन चाहेको उल्लेख गर्दै नगरपालिकाबाट प्रशंसनीय काम भएको बताए ।

‘हामीले केहीले बाख्रा पालन गरेका छौँ, केहीले सिलाई कटाइको काम गरेर जीवन चलाएका छौँ’, उनले भने ।

चौधरीले आफूहरूलाई स्वास्थ्य बिमालगायतका सुविधा आवश्यक भएकामा जोड दिँदै आर्थिक अवस्था हेरेर आयआर्जनका कार्यक्रम तय हुनुपर्ने बताए ।

नगरपालिकाका द्वन्द्वपीडित सुजन थारुले परिपूरण र क्षतिपूर्ति भए पनि द्वन्द्वपीडितलाई राहत हुने उल्लेख गर्दै द्वन्द्वका घाउले अहिले पनि मानसिक समस्या झेल्नुपरेको बताए ।

राजापुरमा एक सय छ जना द्वन्द्वपीडित स्वरोजगार कार्यक्रममा छन् । ‘परिपूरण र क्षतिपूर्ति भए, माफी दिँदा पनि राम्रो हुन्छ ‘, उनले भने ।

प्रतिक्रिया