आइतबार, जेठ ६, २०८१

चेन्नईमाथि पञ्जाबको जित

नेपालखोज २०८० वैशाख १७ गते २१:३०

काठमाडौं । आइपीएलको जारी सिजनमा पञ्जाब किंग्सले पाँचौं जित निकालेको छ । पाँचौ जित निकाल्ने क्रममा आइतबार पञ्जाबले चेन्नई सुपर किंग्सलाई चार विकेटले पराजित गरेको छ ।

पञ्जाबलाई अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएको थियो । अन्तिम ओभरमा सिकन्दर राजाले पाँच बलमा ८ रन बनाएका थिए भने एक रन अतिरिक्त पाएको थियो ।

चेन्नईले दिएको २०१ रनको लक्ष्य पञ्जाबले ६ विकेट गुमाएर भेट्टाएको थियो । पञ्जावका लागि ओपनर प्रभसिम्रण सिंहले सर्वाधिक ४२ रन बनाए । उनले २४ बलमा ४ चौका र दुई छक्काको मद्दतले ४२ रन बनाएका हुन् ।

त्यस्तै लियाम लिभिङस्टोनले ४० रनको योगदान गर्दा साम कुरानले २९ रनको योगदान गरे । कप्तान शिखर धावनले २८ रन बनाउँदा जितेश शर्माले २१ रन बनाए । सिकन्दर राजा १३ रनमा अविजित रहे ।

चेन्नईका लागि तुशार देशपाण्डेले तीन, रविन्द्र जडेजाले दुई तथा मथिसा पाथिरानाले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा चार विकेटको क्षतिमा २०० रन बनाएको थियो ।

चेन्नईका लागि उत्कृष्ट ब्याटिङ गरेका डेभोन कोनवेले सर्वाधिक अविजित ९२ रन बनाएका थिए । उनले ५२ बलमा १६ चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यस्तै ऋतुराज गैक्वार्डले ३७ रनको योगदान गर्दा शिभम दुवेले २८, रविन्द्र जडेजाले १२ तथा मोइन अलिले १० रनको योगदान गरेका थिए । चन्नईका कप्तान महेन्द्र सिंह धोनी १३ रनमा अविजित रहेका थिए ।

पञ्जाबका लागि अर्शदिप सिंह, सिकन्दर राजा, साम कुरान र राहुल चहरले समान एक एक विकेट लिए ।

जितसँगै पञ्जाबको नौ खेलबाट पाँचमा जित र चार पराजयसँगै १० अंकसहित पाँचौं स्थानमा रहेको छ । समान अंक भएपनि रनरेटको आधारमा चेन्नई चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया