एउटै समूहबाट पटकपटक आक्रमणको प्रयास भयो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आक्रमणको प्रयास गरिएको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा अखिल नेपाल किसान महासङ्घको ७३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार आक्रमणकारीलाई पक्रेर केही गर्न नसकेको बताए।
उनले आक्रमणकारीले धकेल्दा पनि प्रहरी प्रशासन केही नगरेको बताए । अध्यक्ष ओलीले २०–२५ जना केटाको एउटै समूहले आफूलाई झापा, इलाम, पाँचधरमा आक्रमणको प्रयास गरेको बताए । ‘हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहीँ ढुङ्गा हान्ने, कहीँ भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उद्दण्डतामा सरकारले उनीहरूलाई केही गर्न सकेन’, उनले भने ।
आफूहरूविरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरू भएको छ भन्दै उनले भने, ‘त्यो म आफैँले देखेर, भोगेर आएको छु ।’ कोही कम्युनिष्टको नाममा, कोही के कामका नाममा खोल ओढेर एमालेका विरुद्ध उत्रिएको उनको भनाइ थियो । अध्यक्ष ओलीले किसान नेतालाई काममा प्रतिस्पर्धा गर्न आग्रह गरे । उनले काम नगरेपछि पदमा प्रतिस्पर्धा हुन थालेको भन्दै काम गरेपछि पदमा लडाइँ नहुने धारणा राखे ।
उनले किसानको नेताले परिचयपत्र देखाउन नपर्ने बताए । ‘किसान महासङ्घको नेताले परिचयपत्र देखाउनु पर्दैन । उसको घरमा जाँदा बालीनाली हेर्दा किसान महासङ्घको नेता हो भनेर चिन्नुपर्दछ,’ उनले भने, ‘धेरै भिण्डी, ठूलो लौका, ठूलो फर्सी लामो घिरौँला फल्ने र जातअनुसारका गाईले धेरै दूध दिनुपर्दछ । तब मात्र किसान नेता हुन्छ ।’ -rss
प्रतिक्रिया