प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अझै अनिश्चित, कहिले जुर्ला साइत ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति अझै टुङ्गो लाग्न सकेको छैन ।
हालसालैको उपनिर्वाचनको अप्रत्याशित नतिजा र आन्तरिक कारणले पनि भ्रमणमा ढिलाइ भएको बताइएको छ।
उनको भारत भ्रमण जेठअघि सम्भव नदेखिएको पिटिआईले उद्धृत गरेको छ। तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको यो पहिलो विदेश यात्रा हुनेछ। यसअघि पनि आन्तरिक कारणले उनको भ्रमण ‘पोस्टपोन्ड’ भएको थियो।
सरकार जेठ मध्यतिर आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट पेस गर्ने तयारीका साथ काम गरिरहेको छ। सोही कारणले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण बजेट पेसपछि नै हुन सक्ने बुझिएको छ।
त्यसो त सरकार जेठ दोस्रो हप्ता प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आन्तरिक तयारीमा जुटेको थियो। तर, हालै सम्पन्न उपनिर्वाचनको परिणामले पनि भ्रमणबारे सोध्न बाध्य भएको पिटिआईले उल्लेख गरेको छ।
चुनावअघि काँग्रेससहितका दलसँग भएको गठबन्धनबाट बाहिर निस्केर पूर्व प्रधानमन्त्री केपी ओलीको सहयोगमा गत पुस ११ गते तेस्रो प्रधानमन्त्रीका रूपमा प्रचण्डले शपथ लिएका थिए।
यसैबिच नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले प्रचण्डको आगामी भारत भ्रमणलाई फलदायी बनाउन सरकारले ठुलो तयारी गरिरहेको बताएको पिटिआईले उल्लेख गरेको छ।
यसै गरी उनले नेपाल सरकार भ्रमणलाई फलदायी बनाउन चाहेको बताए।
‘हामी परिणाममुखी कार्य तालिकामा काम गरिरहेका छौँ र प्राथमिकताहरू तय गर्न भव्य तयारी भइरहेको छ,’ साउदले भने, ‘प्रधानमन्त्रीको भ्रमणबारे विभिन्न मन्त्रालयबिच प्रारम्भिक छलफल सकियो।’
भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड गत जुलाईमा भारत गएका थिए ।
प्रतिक्रिया