शनिबार, जेठ ५, २०८१

एआईलाई रोक्न विश्वकै पहिलो कानुन ल्याउने तयारी

नेपालखोज २०८० वैशाख १८ गते १७:४७

काठमाडौं । यस वर्ष युरोपेली संघमा एउटा सम्झौता हुन सक्ने सम्भावना छ । जसले आर्टिफिसियल इन्टेलिजेन्सको सीमा र नियमहरू तोक्नेछ । युरोपियन युनियनमा टेक्नोलोजी सम्बन्धी नियमहरूको दक्ष मार्गरेट वेस्टागेरले यो कानून आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित संसारको पहिलो कानून हुने बताएका छन् ।

गत हप्ता मात्र युरोपेली संघका सदस्य राष्ट्रहरूबीच आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि ऐनको मस्यौदामा प्रारम्भिक सहमति भएको थियो । जसको लागी मे ११ मा युरोपेली संसदमा मतदान हुँदैछ । त्यसपछि सदस्य राष्ट्र र युरोपेली आयोगसँग मिलेर विधेयकको मस्यौदालाई अन्तिम रूप दिइनेछ ।

वेस्टागेर आइतबार जापानको ताकासाकीमा थिए । जहाँ ‘जी-७’ देशको प्रबिधि मन्त्रीहरूको बैठक चलिरहेको थियो । यस बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले युरोपेली संघको एआई ऐन नयाँ प्रविधिको विकासको समर्थक भएको र यसको उद्देश्य नयाँ प्रविधिको उदाउँदो जोखिमलाई न्यूनीकरण गर्ने रहेको बताए ।

आर्टिफिसियल इन्टेलिजेन्सको तिब्र बृद्धि र जीवनको हरेक पक्षमा यसको व्यापक प्रभावका कारण विश्वभरका सरकारहरूले यससँग सम्बन्धित नियमहरू बनाउने विचार गरिरहेका छन् । वेस्टेजर भन्छन्-,’एआई को गलत प्रयोग धेरै महँगो हुन सक्छ । हामी यसलाई व्यबस्थापन गर्ने नियमहरू बनाइरहेका छौं किनभने यदि खतरनाक रूपमा एआई को दुरुपयोग भयो भने, यो धेरै महँगो र यसको खतराहरू सामना गर्न नसकिने हुनेछ’।

युरोपेली संघको एआई ऐन यस वर्ष पारित हुने सम्भावना छ, तर विज्ञहरूका अनुसार नियमहरू लागू हुन धेरै वर्ष लाग्न सक्छन् । एक अन्तर्वार्तामा भेस्टेगरले भने, ‘कुनै पनि हिचकिचाहट हुनु हुँदैन । जहाँ एआईले ठूलो प्रभाव पार्छ, त्यहाँ परिवर्तनका लागि छलफल सुरु गर्नुपर्छ र कानुन बनेर कार्यान्वयन हुन्छ भनेर कुर्नु हुँदैन।’ -एजेन्सीको सहयोगमा

प्रतिक्रिया