आज विश्व दम दिवस, ‘सबैका लागि हेरचाह’ भन्ने नाराका साथ मनाइँदै

नेपालखोज २०८० वैशाख १९ गते ७:१२

काठमाडाैं । सबैका लागि हेरचाह विश्व दम दिवस – २०२३ ‘सबैका लागि हेरचाह’ भन्ने विशेष नाराका साथ मनाइँदैछ । आम मानिसले दम जस्ता रोगको गम्भीरता बुझन सके समयमै उपचार र रोकथामका लागि कदम चाल्न सक्छन् भन्ने उद्देश्यका साथ हरेक वर्ष विश्व दम दिवस मनाइँदै आएको छ । यो दिवसका लागि हरेक वर्ष मे महिनाको पहिलो मंगलबार तोकिएको छ । यो वर्ष मे महिनाको पहिलो मंगलबार २ तारिखमा अथवा वैशाख १९ गते छ ।

दम एउटा यस्तो प्रकारको रोग हो जसले श्वासप्रश्वास प्रणालीमा असर गर्छ । कतिपय अवस्थामा बिरामीले सधैं साथमा इनहेलर राख्नुपर्छ । दम सम्बन्धी जानकारी र सचेतनाका लागि विश्व दम दिवस मनाइन्छ । हरेक वर्ष यो दिवसको थिम पनि विशेष राखिन्छ । ग्लोबल इनिसिएटिभ फर अस्थमा (GINA) ले हरेक वर्ष विश्व दम दिवसको नारा तय गर्छ। यो विश्व स्वास्थ्य संगठन र अर्को एउटा संस्थाको सहकार्यमा बनेको संस्था हो । यस पटक जीआइएनए ( GINA ) ले यो विशेष दिनको थिम अस्थमा केयर फर अल राखेको छ ।

यो विषयवस्तु राखिनुको मुख्य कारण सबै ठाउँमा दमका सूक्ष्मताहरू बुझाउन सकियोस र त्यससँगै दम सम्बन्धी उपचार र हेरचाह सबै वर्ग र आर्थिक हैसियतका मानिसहरूलाई समान रूपमा दिन सकियोस भन्ने हो । सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सहकार्यमा यो दिवस मनाउन पहल गरिएको हो । सन् १९९८ मा यो दिवस मनाइँदा ३५ भन्दा बढी देश त्यसमा सहभागि थिए । विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार विश्वभर ३३ करोड ८० लाखभन्दा बढी मानिस यो रोगबाट पीडित छन् । अस्थमाका कारणहरु बढ्दो प्रदूषण दमको सबैभन्दा ठूलो कारण हो ।

धुलो र धुवाँका कारण ठूलो संख्यामा मानिसहरु यो रोगको सिकार भैरहेका छन् । यससँगै रुघाखोकी, फ्लू र मौसममा आएको परिवर्तन पनि यसको कारण बनेको छ । पराग कण र अन्य चीजहरूको एलर्जीका कारणले पनि अस्थमा हुन सक्छ। कहिलेकाहीँ यसको कारण आनुवंशिक हुन्छ, अर्थात् परिवारमा कसैलाई यो रोग लागेको छ भने त्यसको जोखिम उच्च हुन सक्छ। दमबाट जोगिन सावधानी अपनाउनु आवश्यक छ । यो रोगबाट पीडित व्यक्तिहरूले धुलो र प्रदूषित वातावरणबाट टाढा रहनुपर्छ ।

धेरै चिसो – तातो वा आर्द्र ठाउँहरू यो रोगका रोगिहरुका लागि सुरक्षित मानिदैनन्। यदि एलर्जीको कारणले दम छ भने एलर्जी निम्त्याउन सक्ने यस्ता चीजहरूबाट टाढा रहनुपर्छ। सधैं तातो वा मनतातो पानी प्रयोग गर्नुहोस्। दमका बिरामीले खानपानमा ध्यान दिनुपर्छ । हरियो सागसब्जी खानुपर्छ । भिटामिन ए, सी र ई भएका खाना खानु फाइदाजनक हुन्छ। यसका साथै लसुन, अदुवा तथा बेसारले दम विरुद्ध लड्ने शक्ति प्रदान गर्छ ।

दमका धेरै लक्षणहरू कफयुक्त वा सुख्खा खोकी , छातीमा भारीपन र कसिलोपन महसुस हुने, सास फेर्न गाह्रो हुने, सास फेर्दा आवाज आउनु, चिसो हावामा सास फेर्न गाह्रो हुनु, सास फेर्दा थकान महसुस हुनु । गम्भीर अवस्थामा बारम्बार बान्ता हुने समस्या पनि हुन्छ । जब सास फेर्न गाह्रो हुन्छ, तब निश्चित रूपमा डाक्टरसँग छलफल गर्नुपर्छ । अस्थमा भएका व्यक्तिहरूलाई भुटेको खाना नखान सल्लाह दिइन्छ ।

प्रतिक्रिया