६० वटा सवारी साधन आपसमा ठोक्किए

काठमाडौं । अमेरिकाको इलिनोइस राज्यमा सोमबार धुलो तथा हुरीका कारण अन्तरराजिय राजमार्गमा धेरै सवारीसाधन आपसमा ठोक्किए । त्यसमा २० व्यावसायिक सवारी साधन तथा ६० भन्दा बढी कार थिए । यो घटनामा ६ जनाको मृत्यु भएको छ ।
इलिनोइस प्रहरीका अनुसार ३० भन्दा बढी घाइतेलाई अस्पताल लगिएको छ । घाइते हुनेमा २ वर्षका बालबालिकादेखि ८० वर्षका वृद्धसम्म छन् । मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।
आँधीको समयमा ७० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो । आँधी पछि कैयौँ सवारीसाधन एक आपसमा ठोक्किएका थिए ।
अहिले सेन्ट लुइसको उत्तरमा ७५ माइल (१२० किलोमिटर) मोन्टगोमेरी काउन्टीमा राजमार्ग दुवै दिशामा बन्द गरिएको छ । जुन मङ्गलवार दिउँसोसम्म बन्द रहनेछ ।
खेत जोत्दा नरम भएको माटो हावासँगै उडे पछि यो दुर्घटना भएको हो । सेन्ट लुइस मौसम विभागका अनुसार नयाँ जोतिएका खेत र बलियो उत्तर पश्चिमी हावाको संयोजनले धुलोको आँधी उत्पन्न भएको हो जसको गति ७० किलोमिटर प्रतिघण्टा थियो । यसका कारण भिजिबिलिटी कम भएर सवारीसाधनहरू आपसमा ठोक्किएका हुन् ।
प्रतिक्रिया