अठार घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ ।
धुनी बेँसी नगरपालिका-६ र थाँक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेश खोला पुलमाको जमिन भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलवार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो ।
भासिएको ठाउँमा ग्यावियन जाली भरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभर पनि काम गरेका थिए ।
यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सवारी जाम हटाउन हम्मे हम्मे छ । पूर्व-पश्चिमका जिल्लाबाट रातिको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको छ ।
पूर्व-पश्चिमबाट राजधानी काठमाडौं आउँदै गरेका सवारीलाई प्रहरीले धादिङको जोगिमारा, मलेखु, घाट बेँसी, आदम घाटलगायतका बजार र प्रहरी चौकी आसपासमा राखिएको छ ।
बाटो एकतर्फी खुलाइए पनि तत्काल सहजै बाटो पास गर्न कठिन छ । सयौँ सवारी सडकमा रोकिएकाले ती सवारीसाधन पार गराउन अझै केही घण्टा लाग्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया