आइतबार, जेठ ६, २०८१

एसिया कप रद्द हुने सम्भावना बढ्यो

नेपालखोज २०८० वैशाख १९ गते १३:०१

काठमाडौं । नेपाल ऐतिहासिक रूपमा एसिया कप क्रिकेटका लागि छनोट भए पनि उक्त प्रतियोगिता हुने/नहुने अन्योल बढ्दै गएको छ । आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप विवाद बढ्दै गएर रद्द हुने सम्भावना व्यक्त गर्न थालिएको छ ।

क्रिकक्र्याकरको समाचार अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) तथा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) आ–आफ्नो अडानमा कायम रहे पछि एसिया कप हुने – नहुने अन्योल बढेर गएको हो । पाकिस्तानले आयोजना गर्न लागेको एसिया कपमा भारतीय टिमका खेलहरू पाकिस्तान बाहिर खेलाउने प्रस्ताव पाकिस्तानले गरेको थियो।

भारतको क्रिकेट बोर्ड (बीसीसीआई) ले पनि आफ्ना खेलाडीको सुरक्षाको कारण देखाउँदै पाकिस्तान जान अनिच्छा जाहेर गरिरहेको थियो । त्यसैले पाकिस्तानले गरेको प्रस्तावमा भारतको क्रिकेट बोर्ड पहिले सकारात्मक देखिए पनि अहिले उ प्रतियोगिता अन्य देशमा सार्नुपर्ने पक्षमा छ भने पीसीबीले यसलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) र श्रीलङ्का पनि यो प्रतियोगिता आयोजना गर्न इच्छुक छन् । यता पाकिस्तान क्रिकेट बोर्डले प्रतियोगिता पाकिस्तानमा आयोजना गर्नुबाहेक अन्य विकल्प नभएको बताएको छ । उसो त एसियन क्रिकेट काउन्सिलका अध्यक्ष तथा बीसीसीआईका सचिव जय शाहले केही दिन अघि एसिया कप आयोजना हुने स्थानका बारेमा अन्तिम निर्णय लिन काउन्सिल सम्बन्धित देशको सुझावको पर्खाइमा रहेको बताएका थिए।

अहिले एसिया कपका लागि स्थान फाइनल गर्न भारत र पाकिस्तानको स्पष्टता आवश्यक देखिएको छ किनभने नेपाल सहित भारत र पाकिस्तान दुवै एसिया कपको एउटै समूहमा छन् । बीसीसीआई एसिया कप रद्द हुने कुराका लागि तयार देखिएको छ ।

भारतीय क्रिकेट बोर्डले एसिया कप नभए उक्त समयमा पाँच राष्ट्रको नयाँ प्रतियोगिताको योजना बनाएको समाचार क्रिकक्र्याकरमा छ।

प्रतिक्रिया