प्राचीन परम्परा र संस्कतिको जगेर्ना गर्न महोत्सव

नेपालखोज २०८० वैशाख २१ गते ५:३८

कास्की । कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा बुद्धजयन्तीको अवसर पारेर तीन दिने वैशाख पूर्णिमा मेला तथा महोत्सव सञ्चालन गरिने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ याङ्जाकोट मिलन युवा क्लबले उक्त महोत्सव सञ्चालन गर्न लागेको हो । महोत्सव वैशाख २१–२३ गतेसम्म सञ्चालन गरिने बताइएको छ । कास्कीको मादी गाउँपालिका–३ मा पर्ने याङ्जाकोटमा एक होटल र दुई सय ५० पाहुना अट्न सक्ने होम स्टे सञ्चालनमा छ ।

पोखराबाट १९ किलोमिटर दूरीमा पर्ने उत्तरपूर्वी गाउँ याङ्जाकोटमा दुई सय घरधुरी छ भने अधिकांश गुरुङ समुदायका मानिस बस्छन् । महोत्सवको उद्देश्य प्राचीन परम्परा र संस्कृतिको जगेर्ना, पर्यटकीय क्षेत्रको रुपमा विकास, गाउँबाट बसाइ सरेर काठमाडौं तथा पोखरा गएकालाई गाउँ फर्काउने वातावरण सिर्जना गर्ने, होमस्टेको विकाससँगै स्थानीय उत्पादनलाई वढावा दिनुको साथै अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गर्ने हो ।

वैशाख पूर्णिमाको अवसर पारेर विसं २०३८ देखि मेलाको रुपमा मनाउँदै आइएको भए पनि केही वर्षदेखि याङ्जाकोट महोत्सवको रुपमा मनाउन थालिएको हो । इतिहासविद् डा . जगमान गुरुङ पनि यसै गाउँमा जन्मिनुभएको हो । यो महोत्सवमा गुरुङ जातिको प्रसिद्ध घाटु नाच, छेलो हान्ने, नाचगान र अबिर जात्रा गर्ने प्रचलन परम्परागत रुपमा हुँदै आए पनि पछिल्ला वर्षमा भलिबल तथा बाँस्केटबल, लोकगीत, रस्साकसी, घैटो फुटाउने जस्ता प्रतियोगिता सञ्चालन हुन थालेको छ । याङ्जाकोट मादी गाउँपालिकाको केन्द्र हो ।

प्रतिक्रिया