लुम्बिनीमा आज के हुँदैछ ?

काठमाडाैं । बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रमहरु हुँदैछ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन यस पटक कुनै कसर बाँकी नराखिने सम्बद्धहरुले बताएका छन् । विश्व शान्तिको प्रमुख केन्द्र लुम्बिनीमा हुने बुद्धजयन्तीको औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन कार्यक्रम भएकाले उक्त अवसरलाई प्रभावकारी बनाउन भव्य तयारी भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
सो अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ । गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो । पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार मायादेवी आफनो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो ।
राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गरेक थिए । वैशाख शुक्ल पुर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्धजयन्ती मनाउन थालिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ( मुत्यु ) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् ।
राजकीय बुद्ध बिहार लुम्बिनीका प्रमुख संरक्षक भिक्षु सागर धम्मका अनुसार सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभएको थियो । जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो । बुद्धले आर्य अष्टाङिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ । बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्कि मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो । यसमा सम्मिलित ८ मार्गको इमान्दारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिने भिक्षु धम्मको भनाइछ ।
आर्य अष्टाङ्कि मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् । विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।
विश्वशान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । बुद्धजयन्तीका अवसरमा लुम्बिनीसहित विभिन्न जिल्लामा रहेका बौद्ध विहार तथा गुम्बामा बुद्ध पूजा र शोभा यात्राको तयारी गरिएको छ । लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ । विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन् । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित– ४ नं र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरेर अभियानको सुरुवात गरेको हो । ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको हो ।
विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमितिका संयोजक सरोज भट्टराईले बुद्धजयन्तीको अवसरमा विकास कोषभित्रको फोहर सङ्कलन गरेको बताए । ‘सङ्कलन गरिएको फोहोर कहाँ फाल्ने भन्ने समस्या छ । दिगो समाधानका लागि उपाय पनि खोज्दै छौँ’, उनले भने । फोहर व्यवस्थापनको दिगो समाधान नहुँदा स्थानीय केही होटेल व्यवसायी विकास कोषको परिसरलाई नै डम्पिङ साइट बनाएका छन् जसले गर्दा महिलबार क्षेत्रमा प्रदूषण बढेको छ । लुम्बिनीमा वृक्षरोपण गरिने बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा पाँच सय ६७ बिरुवा रोपिने भएको छ । विकास कोषभित्र विभिन्न फलफूलका बिरुवा रोप्ने तयारी गरिएको विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमितिका संयोजक भट्टराईले जानकारी दिए । विकास कोष परिसरमा आँप, लिचि, अम्बा लगायतका विभिन्न जातका फलफूलका बिरुवा रोपिने विकास कोषले जनाएको छ ।

प्रतिक्रिया