शुक्रबार, वैशाख १४, २०८१

सिंहलाई कोरोना !

नेपालखोज २०७८ माघ ६ गते ८:२६

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमण बढेसँगै नयाँ भेरियन्टको त्रास पनि उत्तिकै छ । यसैगरी मानिसमा संक्रमण बढेसँगै विस्तारै जंगली जनावर र घरपालुवा जनावरमा पनि संक्रमण फैलिएको खबर सार्वजनिक भएका छन् ।

दक्षिण अफ्रिकामा सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्युमा जातको एक बिरालोलाई पनि कोरोना भाइरस सरेपछि नयाँ भेरियन्ट उत्पत्ति हुने चिन्ता बढेको छ । चिडियाखानामा सिंह र प्युमा जातको बिरालोलाई कोरोनाभाइरस सरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा अध्ययनले निष्कर्ष निकालेको छ । वैज्ञानिकहरूले भने मानिसबाट जनावरमा कोरोना सरेमा घातक हुने जनाएका छन् ।

लगातार कोरोना भाइरस जनावरमा फैलिरहे मानिसमा सर्ने सम्भावना हुन्छ । जनावरबाट मानिसमा र मानिसबाट जनावरमा लगातार सरेमा नयाँ भेरिअन्ट उत्पत्ति हुन सक्ने खतरा औंल्याउँदै वैज्ञानिकहरूले सचेत गराएका छन् । चिडियाखानाका जीवजन्तुमा पनि मानिसमा कोभिड हुने बेलामा देखा पर्ने जस्तै लक्षण देखा परेको छ । सिंह र प्युमा जातिको बिरालो पनि मानिसजस्तै बिरामी परेका छन् ।

जनावरलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको पाइएको बीबीसीले उल्लेख गरेको छ ।अनुसन्धानकर्ताहरूले चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको तर, उनीहरूमा लक्षण भने नदेखिएको पाएका थिए । वैज्ञानिकहरूले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन र अन्य सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन्।

उता रुसका अधिकारीहरूले जनावरहरूलाई कोरोनाभाइरसविरुद्धको खोप दिन थालिएको जनाएका छन्। मानिसबाट जनावरमा सरेर खतरा हुने अवस्थालाई ख्याल गर्दै जनावरलाई खोप दिइएको जनाइएको छ । गत मार्च महिनामा रुसले कोरोनाभाइरसविरुद्ध जनावरलाई दिइने विश्वको पहिलो खोप दर्ता गरेको घोषणा गरेको थियो । रुसका विभिन्न भेगमा भेटरिनरी क्लिनिकहरूमा खोप दिन सुरु गरिएको छ ।

खोपप्रति ईयू, आर्जेन्टिना, दक्षिण कोरिया र जापानले चासो देखाएका छन् । वैज्ञानिकहरूले हाल मानिसहरूमा उक्त रोग फैलाउन जनावरहरूले खास भूमिका खेलेको भन्ने कुनै प्रमाण नभेटिएको बताएका छन् । तर विश्वभरि विभिन्न प्रजातिका जनावरमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ, जसमा कुकुर, बिराला, चिम्पान्जी र मिङ्क आदि छन्। जनावरलाई कार्निभ्याककोभ खोप लगाएपछि झन्डै छ महिनासम्म प्रतिरक्षा प्रणाली सवल हुने बताइएको छ ।

प्रतिक्रिया