सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी

काठमाडाैं । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आज वैशाख २२ देखि २४ गतेसम्म सञ्चालनमा आउँदैछ । चितवन उद्योग सङ्घको आयोजनामा सङ्घकै प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको हो । उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यो प्रदर्शनीमा भारत, चीन, मलेसियालगायत १० विदेशी कम्पनीले सहभागिता जनाउने सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कक्ष रहनेछन् । औद्योगिक मेसिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इञ्जीनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एन्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादन प्रदर्शनीमा राखिने छन् । कक्ष बुकिङलगायत तयारीको काम अन्तिम चरणमा पुगेको बताइएको छ । विभिन्न राष्ट्रका आधुनिक प्रविधि र उत्पादन, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्ति, व्यावसायिक उत्पादक, नेपाली उद्योगका सञ्चालक, लगानीकर्ता तथा व्यावसायिक उत्पादक प्रदर्शनीको अवलोकनकर्ताका रूपमा रहने अध्यक्ष कँडेलले जानकारी दिए ।
प्रदर्शनीको दोस्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर तथा नेपाल उद्योग परिसङ्घका तर्फबाट ‘मेक इन नेपाल’ स्वदेशी अभियान विषयमा गोष्ठी तथा सेमिनार आयोजना गर्न लागिएको छ । आधुनिक प्रविधिको अनुशरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदान–प्रदानमार्फत उद्यमशीलताको विकासमा सहयोग पुग्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको यो प्रदर्शनीले नयाँ उद्यमी समेत जन्माउने उदेश्य राखेको छ । यो प्रदर्शनी चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हो ।
नेपाल उद्योग परिसङ्घले अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थामा उद्योगी, व्यवसायीको मनोबल उच्च बनाउनका लागि पनि यो औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो । यो अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायीहरुलाई सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । तीन दिन चल्ने प्रदर्शनीमा दुई सय स्टल रहने छन । प्रदर्शनीको अवलोकन निशुल्क हुने तथा औद्योगिक प्रदर्शनीमा औद्योगिक प्रवद्र्वनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्र्रिया आयोजना गरिने कुरा पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया