बुद्ध जयन्ती मनाउन रामग्राममा धातु जात्रा

नेपालखोज २०८० वैशाख २२ गते ६:५६

नवलपरासी । आज बुद्धको २५६७औं जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले धातु जात्रा निकाल्दैछ । हरेक वर्ष रामग्राम स्तपुमा मनाइदै आएको बुद्ध जयन्ती यो वर्ष नगरपालिकाले फरक तथा आकर्षक ढङ्गले गर्ने बताएको छ । नगरपालिकाले नगरभित्र रहेको कोलिया गणराज्यको पण्डितपुरबाट धातु जात्रा (रथ) गर्ने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए ।

करिब २५ सय वर्ष तथा इसापूर्व पाँच सय वर्ष पुरानो यो स्तुप कोलिया गणराज्यद्वारा निर्माण गरिएको थियो । बुद्धको परिनिर्वाणपश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुपमध्ये सिङ्गो अस्तु भाग रहेको रामग्राम स्तुप हो । स्तुपको सुरक्षार्थ नागजातिको आग्रहमा उत्खनन नगराई दिदा सिङ्गाँ भाग बचेको छ ।

सोही अस्थिको झल्को दिन धातु रथयात्रा गर्ने नगरप्रमुख यादवले भने । बुद्ध जयन्तीका अवसरमा कार्यक्रमलाई भव्य र सफल बनाउनका लागि नगरपालिकाले सम्पूर्ण तयारी गरिसकेको छ । रामग्राम स्तपु, पण्डिपुर र परासी बजार सरसफाइ गरिएको छ । त्यस्तै दिउँसोका कार्यक्रम सकिएपछि साँझ दीपावली गर्ने कार्यक्रम पनि छ ।

किरात बस्तीमा उभौली साकेला वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायको उभौली पर्व प्रारम्भ भएको छ । उभौलीका अवसरमा पूर्वका किरात बस्तीमा अहिले साकेलाको रौनक छाएको छ । साकेला थानमा विधिपूर्वक पूजा गरी औपचारिकरूपमा साकेला उभौली प्रारम्भ हुने किरात राई यायोक्खा जिल्ला कमिटी उदयपुरका अध्यक्ष गङ्गा राईले बताए।

किरात राईहरूको बसोबास रहेको कोशी प्रदेशअन्तर्गतका पूर्वी पहाडी जिल्लाका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौँ आदि सहरमा रहेका राई समुदायले यो पर्व धुमधामका साथ मनाइरहेका छन् । उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख–शान्ति फैलियोस्, दैवीप्रकोप तथा विपत्ति नआउन् भनेर मनाउन थालिएको बूढापाका बताउँछन् ।

त्यसैगरी पानी पर्न थालेपछि नदी, खोला, खहरेमा समेत पानी बढ्दै जाने समयमा प्रकृति पूजक किरात समुदायले माछा उकालो (उँभो) पानी आउने ठाउँतिर बसाइँ सरेको समयलाई समेत उभौलीको सङ्केतका रूपमा यो पर्व मनाइने गरेको पाइन्छ । त्यस्तै मानिस, जनावर तथा चराचुरुङ्गी बेँसीतिरबाट लेकतिर सर्ने सङ्केत गर्न तथा अन्नबाली लगाएको खुसीयालीमा मनाइने किरात राई संस्कृतिका अध्येता शुभराज राई बताउँछन् ।

भाषा, संस्कार तथा संस्कृतिले आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उभौलीका अवसरमा संसारभर छरिएका किरात आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउने किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए । उभौलीका अवसरमा सामूहिकरूपमा दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा साकेला नाचिन्छ ।

पछिल्लो युवापुस्तामा समुदायको वेषभूषा लगाउने र साकेला नाच्ने आकर्षण नै बढ्दै गएको छ । हातमा सेउली, चमर लिएर, ढोल, झ्याम्टाका साथ किरात बस्तीमा युवा–युवती रमाउने गरेका छन् । चर्को गर्मी, वर्षा झरीको समेत वास्ता नगरी युवापुस्ता उभौली साकेलामा रमाउने गर्दछन् ।

प्रतिक्रिया