बुद्ध जयन्तीको पूर्व सन्ध्यामा मायादेवी मन्दिरमा हल्लाखल्ला

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा चीनले अनधिकृत रूपमा कार्यक्रम गरेर हल्लाखल्ला गरेपछि यहाँ धेरैलाई अप्ठ्यारो परेको छ ।
२५६७औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा बिहीबार बेलुका लुम्बिनी स्थित पवित्र उद्यान क्षेत्रभित्र रहेको मायादेवी मन्दिर परिसरमा चीनको आयोजनामा अनधिकृत रूपमा कार्यक्रम सम्पन्न भएको हो ।
‘विश्व सम्पदामा सूचीकृत मायादेवी मन्दिर परिसरमा युनेस्कोले कुनै अन्य देशलाई प्रोपोगण्डाका लागि कुनै पनि कार्यक्रम गर्न मनाही गरेको छ’ स्थानीय सञ्चारकर्मी दिनेश लोधले भने, ‘तैपनि पनि ठुल्ठूला साउन्ड सिस्टम (स्पिकर) राखेर कोलाहल गर्दै चिनियाँ टोलीले कार्यक्रम गरेको छ ।’
‘वैशाख २२ गते शुक्ल पूर्णिमाका दिन पर्ने बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना हुँदै छ ।
त्यसका लागि लुम्बिनीलाई झकिझकाउ पारिएको छ’ उनले भने, ‘त्यसैको फाइदा उठाउँदै चिनियाँ टोलीले निषेधित क्षेत्र भित्र कार्यक्रम गरेको हो ।’
पाँच सय बढी सहभागी रहेको कार्यक्रममा चिनियाँ बौद्ध धर्मगुरु ‘मास्टर इन्सुन’ लगायत चीनका महत्त्वपूर्ण व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, सदस्य सचिव सानुराज शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचर) लगायतका पदाधिकारी तथा कर्मचारीहरूको पनि उपस्थिति थियो ।
लुम्बिनी विकास कोषले आजका लागि मात्र चिनियाँहरूलाई कार्यक्रम गर्न दिइएको भन्दै पन्छिन खोजे पनि कोषका पदाधिकारीमार्फत स्वीकृति लिएर मात्र कार्यक्रम गर्न दिइएको एक कर्मचारीले बताए ।
नाम खुलाउन नचाहने उनले के र कस्तो कार्यक्रम भनेर ख्याल नगरी यसअघिका वर्षमा पनि कार्यक्रम गर्न दिइएकाले यसपालि पनि गर्न दिइएको बताए ।
‘कोषले यसरी कार्यक्रमको प्रयोजन नै थाहा नपाई हचुवाको भरमा कुनै प्रोपोगन्डा फैलाउने कार्यक्रम गर्न दिनु भने पक्कै पनि विडम्बनायुक्त विषय हो’ लुम्बिनीका स्थानीय एपी चौधरीले भने, ‘शान्ति र अध्यात्मको केन्द्र मानिने मायादेवी मन्दिर परिसरमा यसरी ठुल्ठूला साउन्ड सिस्टम राखेर कोलाहल गर्दै हुने कार्यक्रमको अनुमति दिने जोसुकैलाई कारबाही हुनुपर्छ ।’
यस विषयमा कोषका पदाधिकारीहरू सित सम्पर्क हुन सकेन भने सूचना अधिकारी डा.हरिध्वज राईले कार्यक्रमको पुष्टि गर्दै त्यसलाई सकारात्मक रूपमा लिन आग्रह गरे ।
उनले भने, ‘पूजापाठको विषयमा रोकटोक गर्नु सान्दर्भिक र उचित देखिँदैन ।’ उनले २५६७ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० सफलतापूर्वक सम्पन्न गर्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया