शुक्रबार, चैत १६, २०८०

अमेरिकामा भएको एक नेपालीको मृत्युकाे बहस

राजेश मिश्र २०७९ चैत ११ गते १०:२१

काठमाडाैं । टेक्सासका समाजसेवी भनिएका ब्यापारी कृष्ण लामिछानेले आत्महत्या गरेको खबरले नेपालीहरुको सामाजिक संजाल रंगिएको छ ।

आत्महत्या सानो साहसको परिणाम होईन तर यो बहादुरी पनि हुँदैहोईन। सुनिएअनुसार पत्नीको शारीरिक मानसिक प्रताडना सहन नसकेर उनले देहत्याग गरेका हुन्। घटना दुखद भएपनि कारण हास्यास्पद छ । जन्मिदै लिएर आएको श्रीमती हो र ? यहीँ धर्तीमा पाएको हो, यहीँ धर्तीमा एकदिन छुट्नु नै थियो । कानूनी रुपमा अलग भएर आफ्नो जीवन बाँच्न कसले रोकेको थियो उनलाई ?

समाजको डरले चूप लागेको रे ! कुन समाज ? कस्तो समाज ? उनको पारिवारिक कष्टको कुरा पहिलेनै सार्वजनिक भएकै हो।
अहिले श्रद्दान्जलीको श्राद्द गरेर नथाकेका यहीँ समाजका सदस्यहरुले यो कुराको चुट्की बजाउँदै समूह समूहमा चिया पिएको होईन र ?

लामिछाने जीवित हुँदा उनको मानसिक उद्वेगमा मलम लगाउन को अघि सरेको थियो ? अहिले ठूला कुरा गर्छन् कातरहरु !लामिछानेलाई परेको जस्तो समस्या मान्छेलाई पहिले पनि परेको थियो, पछि पनि परिरहने छ । यसैका कारण सबैले आफ्नो दूर्लभ जीवनको अन्त्य गरेका छैनन्। आत्महत्या आफैँ माथिको अपराध मात्र होईन, प्रकृतिले करोडौं बर्ष लगाएर हाम्रो उद्विकासमा गरेको लगानीको अन्यायपूर्ण अवमूल्यन पनि हो ।

जन्म र मृत्युमा समाजको नियन्त्रण हुन सक्दैन। कसैको बिवाह जुर्नु र टुट्नु पनि समाजको सरोकार होईन। मरेपछि “मलामी नपाईने” डर वाहियात त्रास हो। मरिसकेपछि लाशलाई कात्रो ओढाउने एकजना मात्र होस् वा त्यसलाई हजार तोपको सलामी मिलोस ! लाशले न देख्छ न सुन्छ ! के अर्थ छ त्यसको ? समाजसँग डराउञ्जेल मात्र तर्साउने हो समाजले। एकचोटी फर्किएर कर्के आँखाले हेरिदिएपछि समाज आफैँ डराउँछ ।

त्यसैले म र मेरी पत्नीले ज्युँदैमा “मलामी”को व्यवस्था गरिसक्यौँ। आफ्नो काम लाग्ने सम्पूर्ण अंग दान गर्ने हो। कुनै धार्मिक सामाजिक अनुष्ठान समेत गर्ने होईन। यसको लिखित मन्जुरीनामालाई “नोटराईज” गरेर कानूनी रुप दिने काम पनि सम्पन्न भैसक्यो। बाँचुन्जेल चाहीँ अहिले प्राप्त यो एक एक श्वासको सम्पूर्ण आनन्द लिन भने छोडिने छैन ।

प्रतिक्रिया