मिडियामाथि आक्रमण गर्ने ३७ नेता

नेपालखोज २०८० वैशाख २२ गते १३:३५

एजेन्सी । अन्तर्राष्ट्रिय संस्था ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ले मिडियामाथि आक्रमण गर्ने ३७ जना नेताको सूची सार्वजनिक गरेको छ, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै चीनका राष्ट्रपति तथा पाकिस्तानका प्रधानमन्त्रीको नाम पनि छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स’ (आरएसएफ)ले यी सबै नेतालाई ‘प्रेस फ्रीडमका सिकारी’ भनेर नामाकरण गरेको छ ।

आरएसएफका अनुसार यी सबै नेताहरू सेन्सर सिप प्रणाली सिर्जना गर्न जिम्मेवार छन् जस अन्तर्गत पत्रकारहरूलाई या त मनमानी रूपमा कैद गरिन्छ वा उनीहरूविरुद्ध हिंसा गर्न उक्साइन्छ । यिनीहरू मध्ये १६ जना शिकारीले पत्रकारिताका लागि ‘धेरै खराब’अवस्था भएका देशमा शासन गर्छन् ।

यी नेताहरूको औसत उमेर ६६ वर्ष छ । तीमध्ये एक तिहाइभन्दा बढी एसिया-प्रशान्त क्षेत्रका छन् । यी मध्ये केही नेता दुई दशकभन्दा बढी समयदेखि यो सूचीमा पर्दै आएका छन् । यसमा सिरियाली राष्ट्रपति बसर अल असद , इरानका सर्वोच्च नेता अली खोमेनी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाको सामेल छन्।

यो सूचीमा पहिलो पटक नरेन्द्र मोदीको नाम आएको छ । रिपोर्टर्स विदाउट बोर्डर्सले मिडियामाथि आक्रमण गर्न मोदिले मिडिया साम्राज्यका मालिकहरूसँग मित्रता विकसित गरेर आफ्नो प्रचारले मुख्य धारका मिडियालाई भरिदिएको बताएको छ । त्यसपछि उनलाई प्रश्न गर्ने पत्रकारलाई देशद्रोहको मुद्दा लगाइन्छ ।

आरएसएफका अनुसार सामाजिक सञ्जालमा ट्रोलको फौज मार्फत प्रश्न उठाउने ती पत्रकारहरू विरुद्ध घृणा पनि फैल्याइन्छ । यस्ता पत्रकार मारिने कुरा पनि पटक पटक हुने गरेको छ । यस क्रममा संस्थाले सन् २०१७ मा गोली हानी मारिएका पत्रकार गौरी लंकेशको उदाहरण दिएको छ ।

तीन ऐतिहासिक सिकारी, जो अफ्रिकाका हुन् ।

यसमा सन् १९७९ देखि इक्वेटोरियल गिनीका राष्ट्रपति टियोदोरो ओबियाङ गुएमा बासोगन, सन् १९९३ देखि इरिट्रियाका राष्ट्रपति इसाइयास अफवेर्की तथा सन् २००० देखि रुवान्डाका राष्ट्रपति पल कागामे छन् । स्वतन्त्र प्रेसका नयाँ सिकारीमा ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो पनि सामेल छन् ।

मिडिया विरुद्ध उनको आक्रामक र असभ्य भाषा महामारीको समयमा नयाँ उचाइमा पुगेको थियो । यो सूचीमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको नाम पनि छ । उनले सन् २०१० देखि लगातार मिडिया बहुलता र स्वतन्त्रता दुवैलाई कमजोर बनाउँदै आएका छन्।

साउदी अरेबियाका युवराज सलमानलाई प्रेसको नयाँ सिकारीहरूमध्ये सबैभन्दा खतरनाक भनेर वर्णन गरिएको छ। आरएसएफका अनुसार सलमान मिडियाको स्वतन्त्रताको कुरामा बिल्कुलै सहनशील छैन र पत्रकारहरू विरुद्ध उनी जासुसी र धम्की जस्ता रणनीति प्रयोग गर्छन् । उनको एक्सनले कहिलेकाहीँ अपहरण, यातना र अन्य अकल्पनीय परिणामहरू निम्त्याउँछ । पत्रकार जमाल खशोग्गीको हत्यालाई त्यसको उदाहरणका रूपमा लिइन्छ ।

यो ती सूचीमा पहिलो पटक दुई महिला सिकारीलाई समावेश गरिएको छ र दुवै एसियाका हुन् । हङकङकी प्रमुख कार्यकारी क्यारी लामलाई चिनियाँ राष्ट्रपति सी जिन पिङको कठपुतलीका रूपमा चिनिन्छ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई पनि सिकारी भनिएको छ र उनले २०१८ मा नयाँ कानुन ल्याएको बताइएको छ जस अन्तर्गत ७० भन्दा बढी पत्रकार र ब्लगरलाई सजाय दिइएको छ ।

प्रतिक्रिया