बिहीबार, असार ५, २०८२

अत्यधिक गर्मी र चिसोका कारण प्रत्येक वर्ष ५० लाखभन्दा बढीको मृत्यु

नेपालखोज २०८० वैशाख २३ गते ६:०४

काठमाडाैं । हालसालै गरिएको एक अध्ययन अनुसार अत्यधिक तातो वा चिसो अवस्थाले हरेक वर्ष विश्वभर ५० लाख भन्दा बढी मानिसको ज्यान जान्छ । अनुमानअनुसार यो कारण संसारमा लगभग ९.४ प्रतिशत मृत्युका लागि जिम्मेवार छ । यी मृत्युमध्ये ८.५२ प्रतिशतका लागि अत्यधिक चिसो र ०.९१ प्रतिशतका लागि अत्यधिक गर्मी जिम्मेवार थियो । विश्वव्यापी तापक्रम बढ्दै जाँदा गर्मीका कारण मृत्यु हुनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ जसले जलवायु परिवर्तनका कारण भविष्यमा स्थिति अझ विकराल हुनसक्ने देखाएको छ ।

अचम्मको कुरा के छ भने सन् २००० देखि २०१९ सम्ममा चिसोका कारण मृत्यु हुनेहरुको संख्या ०.५१ प्रतिशतले घटेको छ भने गर्मीका कारण मृत्यु हुनेहरुको संख्या ०.२१ प्रतिशतले बढेको छ । यस्तो मृत्युदरमा सबैभन्दा ठूलो गिरावट दक्षिणपूर्वी एसियामा रिपोर्ट गरिएको थियो, जबकि दक्षिण एसिया र युरोपमा यसमा वृद्धि देखियो । यसलाई बुझ्न विश्वभरका एक दर्जनभन्दा बढी वैज्ञानिकहरूले सन् २००० देखि २०१९ बीच ४३ देशका ७ सय ५० स्थानबाट मृत्युदर र मौसमसम्बन्धी तथ्याङ्कको विश्लेषण गरेका थिए।

मोनाश युनिभर्सिटीको नेतृत्वमा गरिएको यो अनुसन्धान द ल्यान्सेट प्लानेटरी हेल्थ जर्नलमा प्रकाशित भएको थियो । तथ्यांकअनुसार अत्यधिक तापक्रमका कारण मृत्यु हुनेहरुको संख्या एसियामा सबैभन्दा बढी छ । यहाँ अत्यधिक गर्मीका कारण वर्षेनी २.२४ लाख मानिसको ज्यान जाने गरेको छ भने अत्याधिक चिसोका कारण २४ लाखले ज्यान गुमाएका छन् । त्यसैगरी युरोपमा अत्यधिक गर्मीका कारण १ लाख ७८ हजार ७ सय जनाको मृत्यु भएको छ भने अफ्रिकामा अत्याधिक चिसोका कारण १ करोड ८० लाख मानिसको मृत्यु भएको छ । अत्यधिक तापक्रमका कारण विश्वको कुल मृत्युमध्ये आधाभन्दा बढी एसिया, विशेषगरी पूर्वी र दक्षिण एसियामा भएको अनुसन्धानले देखाएको छ ।

त्यसैगरी, गर्मीका कारण प्रति लाख मानिसको ज्यान जानेहरुको संख्या युरोपमा सबैभन्दा बढी छ भने उप-सहारा अफ्रिकामा चिसोका कारण प्रति मिलियन मानिसको मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । यो अनुसन्धानमा संलग्न प्रमुख अनुसन्धानकर्ता युमिङ गुओका अनुसार विश्वको तापक्रम जसरी बढ्दै गएको छ, त्यसका कारण चिसोसँग सम्बन्धित मृत्युदर घट्दै गएको छ । बढ्दो तापक्रमलाई अहिले नै नियन्त्रण गर्न नसके भविष्यमा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या अझ बढ्न सक्छ ।

प्रतिक्रिया