आइतबार, जेठ ६, २०८१

लोपोन्मुख घाटु नृत्य संरक्षण गरिँदै

नेपालखोज २०८० वैशाख २४ गते ६:०६

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित भोटेश्वारामा गुरुङ समुदायको घाटु नाच संरक्षणको अभियान थालिएको छ । गुरुङ समुदायको प्रसिद्व घाटु नाच पछिल्लो समय लोपोन्मुख बन्दै गएपछि यसको संरक्षण र संवद्र्धनका लागि अभियान थालिएको हो । यही वैशाख २२ गते चण्डिपूर्णिमाको दिनदेखि सुरु गरिएको घाटु नाच वैशाख २५ गतेसम्म सञ्चालन हुने कार्यक्रमका अभियान्ता रञ्जित गुरुङले जानकारी दिए ।

गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ । ‘पन्ध्र वर्षपछि घाटु नृत्यको आयोजना गरिएको हो’, उनले भने । स्थानीयवासी एवम लोकगायक रञ्जित गुरुङ र कन्यादेवी माविका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङको सक्रियतामा घाटु नृत्यको आयोजना गरिएको हो । ‘सति’ र ‘बाह्रमासे’ गरी घाटु नाच दुई प्रकारको हुन्छ । बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ ।

गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँअनुसार फरक–फरक हुने गरे पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै किसिमको हुन्छ । पछिल्लो समय घाटु नाच नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै गएकाले यसको संरक्षणका लागि अभियान थालेको अभियन्ता गुरुङले बताए । सत्रौँ शताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको पाइन्छ ।

यस नृत्यमा रजस्वला नभएका दुई कन्यालाई स्थानीय वेषभूषामा सजाइ राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ । लमजुङ, कास्कीलगायत जिल्लामा दुई कन्यालाई मात्र नचाइने गरिए पनि तनहुँ, चितवन र गोरखालगायतका स्थानमा बिजोर सङ्ख्या पारेर जति पनि कन्यालाई समावेश गरी घाटु नचाइन्छ ।

घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शृङ्गार, बिहेबारी, सिकार, माछा मार्ने, खेतीपाती, युद्वबारे व्याख्या तथा अभिनय गरिने अभियन्ता सूर्यमानसिंह गुरुङ बताउछन् । परम्परागत संस्कृतिको संरक्षण गर्न र गुरुङको पहिचान तथा संस्कृतिको रूपमा रहेको घाटु नाचलाई पछिल्लो समय उत्सवका रूपमा मनाउन थालिएको पाइन्छ ।

प्रतिक्रिया