आइतबार, जेठ ६, २०८१

लिग लिडर म्यानचेस्टर सिटीसँग २–१ ले हार्‍यो लिड्स

नेपालखोज २०८० वैशाख २४ गते ७:४९

काठमाडौं । इल्काइ गुन्डोगनको दुई गोलप्रेरित लिग लिडर म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिवार राति लिड्स युनाइटेडलाई २–१ गोलको नतिजामा पराजित गरेको छ।

इदिहाद रङ्गशालामा भएको खेलको १९औँ मिनेटमा गुन्डोगनले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। रियाड माहरेजले दिएको पासलाई जर्मन मिडफिल्डर गुन्डोगानले गोलमा परिणत गरेसँगै सिटीले सुरुमै अग्रता लियो।

भ्रमणकारी लिड्समाथि हाबी बनेको सिटीले २७औँ मिनेटमा गुन्डोगनकै गोलमार्फत अग्रता दोब्बर पार्यो। यस पटक पनि गुन्डोगनले माहरेजकै पासको सदुपयोग गर्दै गोल गरेका थिए।

पहिलो हाफमा २–० ले पछि परेको लिड्सले ८५औँ मिनेटमा एक गोल फर्कायो। स्पेनिस फरवार्ड रोडरिगोले निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी रहँदा एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन पर्याप्त भएन।

जितसँगै ३४ खेलबाट ८२ अङ्क जोडेको सिटी लिग तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ७८ अङ्क जोडेको आर्सनल दोस्रो स्थानमा छ।

पराजित लिड्स युनाइटेड ३५ खेलबाट ३० अङ्क जोडेर १७औँ स्थानमा छ।

प्रतिक्रिया