आइतबार, जेठ ६, २०८१

होचा-पुड्काहरुको फुटबल टिम

नेपालखोज २०८० वैशाख २४ गते १२:५६

काठमाडाैं । यो गाजा पट्टीमा होचा- पुड्काहरुक‍ो पहिलो फुटबल टिम हो, जसले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने तयारी गरिरहेको छ। यो टिमका खेलाडीको कद सानो छ तर मनोबल ठूलो छ । प्यालेस्टाइनको फुटबल एसोसिएसन फर एम्पुटीज (अहिला) ले होचो कद भएका व्यक्तिहरुको टिम बनाएको छ, जुन अब अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने तयारीमा छ।

गाजाको एउटा व्यायामशालामा यी खेलाडीहरूले गोल गर्ने र रोक्ने प्रयास मात्र गर्दैनन्, ‘होचा-पुड्काहरु प्रति समाजको दृष्टिकोण’ परिवर्तन गर्ने प्रयास पनि गरिरहेका छन् । यो टिममा ४० वर्षीया अला मिक्दाद पनि छन्, जसको उचाइ १.१८ मिटर अर्थात् ३.८७ फिट छ । उनले विगत २१ वर्षदेखि जोकरको काम गरेर जीविकोपार्जन गर्दै आएका छन् । ‘वर्षौंदेखि मैले एमेच्योरका रूपमा फुटबल खेलेको छु। पहिलो पटक, हामीले एउटा टिमका रूपमा खेलेर समाजमा बहुमूल्य योगदान दिने लक्ष राखेका छौं ।’ मिकदाद भन्छन्।

टिमका अर्का खेलाडी, ३४ वर्षीय हैतम अल-साका भन्छन्- गाजा स्ट्रिपमा छोटा कदका मानिसहरू प्रति सामाजिक स्वीकार्यता नभएकाले धेरै कठिनाइहरूको सामना गर्नुपरेको छ। प्यालेस्टिनी फुटबल एसोसिएसन फर एम्प्युटीजका प्रमुख फवाद अबु गायन भन्छन्- य‍ो टिमले धेरै आर्थिक तथा प्राविधिक कठिनाइहरूको सामना गर्नुपरेको छ । तर यस्तो टिम तयार हुनु नै सकारात्मक अनि प्रेरणास्पद कुरा हो।

प्रतिक्रिया