शनिबार, जेठ ५, २०८१

राजनीतिक व्यवस्था परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

नेपालखोज २०८० वैशाख २४ गते १७:१२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन् ।

आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले विभिन्न राजनीतिक आन्दोलनमा जनतामा जागरण ल्याउन पत्रकारिताले एतिहासिक भूमिका निर्वाह गरेको बताईन् ।

‘पञ्चायतकालको कालरात्रिमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौंँ’, उनले भनिन् ।

राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको दायित्व भएको उनको भनाइ छ । उ्नले समाजका हरेक क्षेत्रमा नकारात्मकताको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई चिर्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुनुपर्ने उल्लेख गरिन् ।

‘गलत क्रियाकलापको आलोचना स्वभाविकै भए पनि राम्रा कामलाई पनि नकारात्मक ढङ्ले पस्कने प्रवृत्तिको विकास हुन थालेको छ । यसलाई चिर्दै आमसञ्चारमाध्यमले विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई प्रस्तुत गर्नुपर्छ’, उनले भनिन् ।

उनले सञ्चार संस्थाको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर भएको स्पष्ट पारिन् । आमसञ्चारमाध्यमलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनसँगै पत्रकारको दक्षता अभिवृद्धिका लागि सङ्घ र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना लगायतका मुद्दा प्राथमिकतामा रहेको उ्नले जानकारी दिईन् ।

पत्रकार पुरस्कृत

सरकारले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बलराम थापालाई सम्मान गरेको छ ।

आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार मन्त्री रेखा शर्माद्वारा वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार राजेन्द्र दाहाल र बलराम थापा सम्मानित भएका हुन् ।

राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अन्य छ जना पत्रकारसमेत सम्मानित भएका छन् । सम्मानित हुनेमा पत्रकार अनिता विन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भीरा सहनी, रामकृष्ण ज्ञवाली र लक्ष्मी आचार्य छन् ।

मन्त्रालयले निष्पक्ष, उत्तरदायी, खोजमूलक र विश्लेषनात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरेको हो ।

पुरस्कृत पत्रकार राजेन्द्र दाहालले आमसञ्चार तथा पत्रकारितासम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने संस्थाको स्थापना गर्न सरकारको ध्यानआर्कषण गराए । उनले भने, ‘लोकतन्त्रको संरक्षण र सफलताका लागि राम्रो पत्रकारिता जरुरी छ । त्यसका लागि अहिले आमसञ्चारसम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने भरपर्दो संस्थाको खाँचो छ ।’

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार तथा पत्रकारितामा आवश्यक लगानी र नीति बनाउनतर्फ सरकारको ध्यानआर्कषण गराए । वरिष्ठ पत्रकारबाट सम्मानित हुनेलाई कदरपत्रसहित रु दुई लाख र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृतलाई कदरपत्रसहित रु एक लाख प्रदान गरिएको छ ।

प्रतिक्रिया