आइतबार, जेठ ६, २०८१

दर्शकको रोजाइमा हाँस्य विधाकाे चलचित्र

नेपालखोज २०८० वैशाख २४ गते १९:१०

काठमाडौं । आज २५औँ विश्व हाँसो दिवस । सन् १९९८ मा भारतका एक वरिष्ठ चिकित्सकको पहलमा मनाइन थालिएको यो दिवसलाई त्यसयता विविध कार्यक्रम गरेर मनाइने गरिन्छ । नेपालमा पनि हाँस्य विधाका टेलिचलचित्र, प्रहसन र चलचित्र दर्शकको रोजाइमा पर्ने गरेका छन् ।

गत वर्ष प्रदर्शन भएका सफल हुनेमा अधिकांश हाँस्यव्यङ्ग्यलाई प्राथमिकता दिइएका चलचित्रका छन् । गत वर्ष सर्वाधिक कमाई गर्ने तीन चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हाँस्य विधामा आधारित छन् । यीबाहेक ‘दुई नम्बरी’, ‘के घर के डेरा’ र ‘झिङ्गेदाउ’ पनि हाँस्य विधामै रहेको चलचित्र हो । ती चलचित्रले घरेलु बजारबाट नै मुनाफा कमाएका छन् ।

नेपाली चलचित्रमा अहिले हाँस्यविधालाई दर्शकले रुचाएको भन्न सकिने उदाहरण हो । निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन् । ‘कबड्डी ४ : द फाइनल म्याच’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनाएको छ । गत वर्षको फागुन १९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ४’ ले ५१ दिन मनायो । यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन् ।

कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हाँस्य कलाकारले अहिले मुख्य भूमिका पाएका छन् । ‘तीतो–सत्य’ टेलिचलचित्रकी कलाकार दीपाश्री निरौलाले निर्देशन गरेकाे ‘छक्का पञ्जा’को तीनै ‘सिरिज’ले राम्रो व्यापार गरिसकेको छ । यसले नेपाली चलचित्रको सफलतामा हाँस्यव्यङ्ग्यको भूमिका प्रमुख रहेको प्रस्टिन्छ ।

‘बक्सअफिसलाई हेर्दासमेत हाँस्यव्यङ्ग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चस्व देखिन्छ, बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ । सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुनसक्छ’, निर्देशक प्रदीप भट्टराईले भने। उनले निर्देशन गरेको चलचित्र ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’ ले पनि राम्रो व्यापार गरेका छन् । हाँस्यशैलीलाई कलात्मकरूपमा प्रस्तुत गर्ने भएकाले उनीसँग चलचित्र निर्माणमा सहकार्य गर्ने चाहना धेरैको छ । उनले यो सफलतालाई परिवर्तनको रूपमा हेर्छन् ।

‘चलचित्रभित्र पहिला हाँस्यव्यङ्ग्य एउटा पाटोमात्र हुन्थ्यो । हास्यकलाकारको काम नै हँसाउने हुन्थ्यो । तर अहिले हाँस्य कलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ’, निर्देशक भट्टराईले भने, ‘यद्यपि हामी सचेत हुनुपर्छ । दर्शकले गरिरहनुभएको विश्वासलाई कम हुन दिनु हुँदैन । जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व त्यति नै बढ्छ ।’ हाँस्य टेलिचलचित्र दर्शकको रोजाइमा परिरहँदा अभिनेता दीपकराज गिरीले त्यो समूहलाई ठूलो पर्दामा ल्याए। त्यो प्रयास ‘छ एकान छ’ मा सफल भयो । त्यसपछि त्यो समूहले निर्माण गरेको सम्पूर्ण चलचित्र ५१ दिनको यात्रा तय गर्न सफल भएका छन् ।

‘हामीले व्यापारभन्दा पनि दर्शकको मायालाई केन्द्रमा राखेर चलचित्र निर्माण गर्यौँ । त्यही कारण हुनसक्छ हामी सफल भइरहेका छौँ’, अभिनेता गिरीले भने । टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायत कलाकार अहिले चलचित्रमा सफल छन् । उनीहरूले काम गरेका चलचित्रले मुनाफा दिनाका साथै व्यापारमा रेकर्डसमेत बनाउन सफल भएका छन् ।

अभिनेता किरण केसीले दर्शकको रोजाइमा हास्य विधा सदैव रहिरहेको बताए । ‘नेपालमा हाँस्य कार्यक्रमहरू धेरै नै हुन्छन् । हाँस्य विधामा काम गर्ने कलाकार अहिले सम्पन्न भएका छन् । देशदेखि विदेशसम्म पुगेर आफ्नो प्रस्तुति दिएका छन् । यो सबै दर्शकको रोजाइका कारण सम्भव भएको हो”, हाँस्य कलाकार केसीले भने, “हाम्रो कामले एकै छिन भए पनि मुहार उज्यालो बनाउने काम गर्छ । त्यसैले हाम्रो कामलाई शृङ्खलामा होस् या चलचित्रमा दर्शकले रुचाएका छन् ।’

निर्देशक भट्टराईले हाँस्यव्यङ्ग्यका विधामा चलचित्र बनाइरहेकाहरू अझै मेहनती हुनुपर्ने बताए । ‘हामी हौसिएका छौँ, चलचित्र उद्योग नै हौसिएको छ । यसले चुनौती थपेको छ’, उनले भने, ‘टेलिचलचित्र अहिले निकै कम छन् । कुनै समय हरेक दिन हास्यविधामा निर्मित टेलिचलचित्र प्रसारण भएका थिए । जसलाई हेर्न दर्शक घरमा फुर्सद निकालेर बस्ने गरेका थिए । अहिले सानो पर्दामा आएको अवस्था ठूलो पर्दामा आउन दिनुहुँदैन ।’

उनले विषयवस्तु चयन, प्रस्तुतीकरण, कलाकारको छनोटलगायत विषयमा विशेष ध्यान दिइरहेको बताए । यद्यपि कुनै समय दर्शकलाई एक छिन हँसाउन चुट्किला र हाँस्य कलाकारलाई प्रयोग गर्ने निर्माता अहिले प्रमुख भूमिकामा सहकार्य गर्न तयार छन् । अभिनेता गिरीसँग चलचित्र निर्माणमा सहकार्य गर्न चाहनेको सङ्ख्या लामो छ । यो सफलतालाई कायम राख्दै अगाडि बढ्नु नै अहिले हास्य विधामा काम गरिरहेका कलाकारहरूको चुनौती हो ।

प्रतिक्रिया