कर्णालीमा पोषणको अवस्थामा सुधार

नेपालखोज २०८० वैशाख २५ गते ६:३०

सुर्खेत । कर्णाली प्रदेशमा पोषणको अवस्थामा केही सुधार हुँदै गएको देखिएको छ । कर्णाली प्रदेश सरकार योजना आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा कर्णालीमा पोषणको अवस्थामा सुधार हुँदै गएको हो ।

आयोगले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पोषण योजनासम्बन्धी अभिमुखिकरण कार्यक्रममा सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१६ मा प्रदेशमा ५४ दशमलव ५ प्रतिशत बालबालिकामा पुड्कोपना रहेकोमा त्यो सङ्ख्या २०२२ मा आउँदा ३५ दशमलव ८ प्रतिशतमा झरेको छ, भने ख्याउटेपन पनि घटेको पाइएको छ ।

त्यसैगरी, सन् २०१६ मा ८ प्रतिशत २०१९ मा १८ प्रतिशत रहेको ख्याउटेपन २०२२ मा आउँदा ४ प्रतिशतमा झरेको बहुक्षेत्रीय योजना कर्णाली प्रदेश समन्वयकर्ता मानबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार रक्तअल्पताको अवस्था भने अझै चिन्ताजनक रहेको देखिएको छ ।

प्रदेशमा ६ देखि ५९ वर्षसम्मका ३९ दशमलव ८ प्रतिशत बालबालिमा रक्तअल्पता हुने गरेको छ भने १५ देखि ४९ वर्षसम्मका २१ दशमलव २ प्रतिशत महिलाहरुमा रक्तअल्पता हुने गरेको देखिन्छ । सरकारको दीगो विकास लक्ष्य २०३० सम्ममा यो अवस्थालाई १० प्रतिशतमा झार्ने भनिएको छ ।

पोषणसम्बन्धी कार्यक्रम कर्णालीका ७९ वटै पालिकामा सञ्चालनमा रहेको छ भने आव २०७९/८० मा २३ करोड ४७ लाख बजेट प्रदेश र सङ्घ सरकारले कार्यान्वयन गरिरहेका छन् । कर्णालीमा एक लाख पाँच हजार बालबालिकाले बाल अनुदान रकम पाइरहेका छन् भने कडा कुपोषित दुई सय १० बालबालिकालाई उपचारमा राखिएको छ ।

कुपोषण दर घटनाउने सरकारका योजना

प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनामा कुपोषणको दर घटनाउने गरी योजना निर्माण गरेको छ भने प्रदेश सरकार स्वास्थ्य नीति २०७६ मा सचेत, स्वस्थ र सुखारी कर्णाली नारा लिएर काम गरिएको छ ।

बहुक्षेत्रीय पोषण कार्यक्रमः स्वस्थ, सुखी र समृद्ध परिवार, हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकारको नारा लिएर पोषण सुधारको योजना बनाइएको छ ।

प्रदेश सरकार मातहतका निकायबाट विभिन्न कार्यक्रम सञ्चालन, बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको, पोषण कोशेली कार्यक्रम, अर्गानिक प्रदेश, पोषणमैत्री स्थानीय शासन कार्यक्रम प्रदेश सरकारले कार्यान्वयन गरिरहेको छ ।

त्यसैगरी, मातृशिशु/पोषणमैत्री/किशोर किशोरी अस्पताल/स्वास्थ्य संस्था, कुपोषण रोकथाम, उपचार तथा एकीकृत व्यवस्थापन, स्थानीय रैथाने खाद्य वस्तुमा आधारित पूरक पैष्टिक आहार कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले पोषण सुधारका लागि योजनाबद्ध ढङ्गले काम गरिने बताए । उनले अब स्थानीय स्तरमा पाइने रैथाने बालिहरुको संरक्षण र उत्पादन बढाउनेगरी योजना निर्माण गरिने बताए । -rss

प्रतिक्रिया