सबैलाई रुवाउँदै अस्ताए व्यवसायी कँडेल

चितवन । दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रूपमा पीडा पोख्न कोही आए म शङ्कर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ ।
आज आफ्नो आँखा अघि त्यो आशा दिलाउने दियो निभ्यो, सहन गाह्रो भो । जिल्लाका परिचित चिकित्सक डा. भोजराज अधिकारीले व्यवसायी शङ्कर कँडेलको निधनको खबर सुनेपछि सामाजिक सञ्जालमा पोस्ट गरेको ‘स्टाटस’ हो यो ।
यो साता जिल्लाका नेता कार्यकर्ता, व्यवसायी सबैको सामाजिक सञ्जालमा यस्तै स्टाटसले भरिए । कँडेलले मङ्गलवार साँझ देह त्याग गरेसँगै जिल्लामा स्तब्धता छायो । धेरैले त्यो रात सुतेनन् । चोक चोकमा कँडेलकै चर्चा भयो । भोलिपल्टबाट सडकमा उनकै न्यायका लागि जिल्लावासी उर्लिए । यसलाई न त कुनै दलले रोक्न सक्यो, न त प्रशासनले ।
पाँच दशकको उमेर पार गरेका कँडेल जहिले पनि हँसिलो मुद्रामा भेटिन्थ्ये । सबैलाई लाग्थ्यो, यस्तो मान्छेलाई पक्कै कुनै पीडा छैन । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ भन्दै हुन् कँडेललाई भेटेपछि ऊर्जा उत्पन्न हुने गर्दथ्यो। उनी मात्रै होइन, सबै पार्टीका नेता कार्यकर्ता र व्यवसायीका लागि ऊर्जाशील हुन् कँडेल ।
पार्टी, सङ्घ संस्थालाई सहयोग चाहिँदा होस् वा कसैलाई बन्द व्यापार गर्नुपर्दा कँडेलकै ढोकामा सबै पुग्ने गर्दथे । कोही कसैले खाली हात फर्किनु पर्दैनथ्यो । कँडेलले जहाँ देह त्याग गरे, सुरुमा देख्दै गर्दा धेरैले आफूलाई सम्हाल्न सकेनन् । तिनमध्येका एक हुन् उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतम ।
उनको घर कँडेलको कार्यालयबाट नजिकै छ । घटना लगत्तै पुगेका उनले सुरुमा पत्यारै भएन । उनले भने, जब मैले कँडेल नै देखेँ, सम्हाल्न सकिनँ, म ढलेछु, झन्डै २० मिनेटपछि बल्लतल्ल उठेँ ।
आफूले कँडेलको निधन भएको सुनेसँगै निःशब्द बनेको पूर्व सांसद कृष्णभक्त पोखरेलले बताए । उनले यसलाई अपत्यारिलो घटनाका रूपमा चित्रण गरेका छन् ।
काँग्रेस चितवनका पूर्व सभापति जीतनारायण श्रेष्ठले सबैलाई हँसाउने कँडेलको निधनले सबैलाई रुवाएको बताए । अप्रत्याशित घटनाले काँग्रेसलाई त क्षति पुगेकै छ समग्र व्यावसायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उनले बताए । उनले भने, ‘कँडेल काँग्रेसको मात्रै नभएर साझा व्यक्तित्व हुन् ।’
व्यवसायी कँडेल नेपालका परिचित पोल्ट्री व्यवसायी हुन् । काँग्रेस पार्टीका महासमिति सदस्य पनि हुन् । आफूले सम्हालेको अनमोल फिड्सको अधिकांश शेयर बिक्री गरी अबको यात्रा राजनीतिक बनाउने योजनामा उनी हुन् । पार्टीभित्रका गुट उपगुटको बिचमा साझा चरित्र बनाउनु भएका कँडेललाई काँग्रेस भनेर भन्दा सामाजिक व्यक्तित्व भनेर सबैले चिन्ने गर्दथे ।
कँडेलले भरतपुर महानगरपालिका–३ स्थित आफ्नै कार्यालयमा गत मङ्गलवार देह त्यागेका हुन् । उनले लेखेको मृत्यु पत्रमा दुई पात्रलाई मृत्युको कारण उल्लेख गरिएको छ । उनीहरूलाई पक्राउ गरी कारबाहीका लागि दैनिक प्रदर्शन हुँदै आएका छन् ।
उनीहरूमध्ये एक जीवन रावल पक्राउ परेका छन् भने प्रदीप रुङ्गटा फरार छन् । रावल कँडेलकै कम्पनीका चार्टर एकाउन्टेट हुन् भने रुङ्गटा कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका साझेदार हुन् ।
कँडेलको निधन भएको छैटौँ दिन आइतबार पवित्र तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ । उनी भरतपुर महानगरपालिका–८ निवासी हुन् ।

प्रतिक्रिया