हीट स्ट्रोक तथा हीट एग्जर्सन के हो ?

नेपालखोज २०८० वैशाख २६ गते ७:००

चर्को गर्मीले कस्ता मानिसहरू प्रभावित हुन्छन् ?

रक्तचापका बिरामीहरू, वृद्ध, साना बालबालिकाहरू, थाइराइडका रोगी, हृदय रोगी, मिर्गौला रोगी, गर्भवती महिला तथा मधुमेह रोगी ।

हीट स्ट्रोक र हीट एग्जर्सनमा फरक

गर्मीको स्ट्रोक वा हीटस्ट्रोकलाई सामान्य भाषामा लु लागेको भनिन्छ । यो तब हुन्छ जब शरीरले आफ्नो तापमान नियन्त्रण गर्न सक्दैन । यस्तो अवस्थामा शरीरको तापक्रम छिटो बढ्छ र घट्दैन ।

जब कसैलाई गर्मीको स्ट्रोक महसुस हुन्छ तब शरीरको पसिनाको संयन्त्र असफल हुन्छ। शरीरको तापक्रम १० देखि १५ मिनेट भित्रमा १०६ डिग्री फारेनहाइट वा त्योभन्दा माथि बढ्न सक्छ। समयमै उपचार नगरे मृत्यु वा अङ्ग फेल हुन सक्छ।

अर्कातर्फ हीट एग्जर्सन भनेको पसिनाको माध्यमबाट शरीरबाट पानी र नुन दुवै बाहिर निस्कनु हो । सरल भाषामा भन्ने हो भने यस्तो अवस्थामा शरीरबाट धेरै पसिना निस्कन्छ । यो पनि एउटा गम्भीर समस्या हो । यसलाई आपत्कालीन चिकित्सा उपचार आवश्यक हुन्छ ।

यसका केही प्रमुख कारण यस्ता छन्,

-धेरै तातो ठाउँमा लामो समयसम्म बस्नु

-चिसो ठाउँबाट अचानक तातो ठाउँमा सर्नु

-गर्मीमा धेरै व्यायाम गर्नु ।

-धेरै पसिना आए पनि पर्याप्त पानी नपिउनु

-धेरै रक्सी पिउनु

-धेरै जङ्क फुड खानु

-पसिना र हावा बाहिर जान नदिने लुगा लगाउनु ।

हीट एग्जर्सनका लक्षण

-धेरै पसिना आउनु,

-हात-खुट्टा चिसो हुनु,

-टाउको दुख्नु,

-वाकवाकी र बान्ता,

-थकान,

-पल्स रेट हाई हुनु,

-मुटुको चाल बढ्नु,

-मांसपेशीको दुखाइ ।

चर्को गर्मीबाट जोगिन के गर्ने ?

शरीरलाई हाइड्रेटेड राख्न र गर्मीबाट बच्न पानी वा नरिवलको पानी पिउन सकिन्छ । तरबुजा, कागती, टमाटर, आँप जस्ता मौसमी फलफूलको रस पनि उपयोगी पनि हुन्छन् । चिसो ठाउँबाट अचानक तातो ठाउँमा जानुहुँदैन ।

त्यसै गरी तातो ठाउँबाट चिसो ठाउँमा पनि नजानुहोस् । घरबाट निस्कँदा छाता, टोपी, हेलमेट आदि प्रयोग गर्नुपर्छ । सनस्क्रिन लगाएर मात्र घाममा निस्कनुपर्छ ।

राम्रो सन ग्लास प्रयोग गर्नुपर्छ जसले कम्तीमा ९९ प्रतिशत युभिबि ( UVB ) किरण तथा ५० प्रतिशत सम्म युभिए ( UVA ) किरण रोक्छ।

यदि कसैलाई गर्मी भएको छ भने तुरुन्तै यी उपाय अपनाउनुपर्छ

-सनस्ट्रोकबाट पीडित व्यक्तिलाई घाममा राख्नुहुँदैन ।

-कपडाको बाक्लो तहहरू हटाइदिएर हावा लाग्न दिनुपर्छ ।

-शरीरलाई चिसो पार्न कुलर वा फ्यानमा बस्नुपर्छ ।

-चिसो पानीले शरीर पखाल्न सकिन्छ ।

-चिसो पानीले भिजाइएको कपडाले शरीर पुछ्न सकिन्छ ।

-टाउकोमा चिसो पानीले भिजाएको कपडा वा आइस प्याक राख्न सकिन्छ ।

-टाउको, घाँटी, काखी तथा कम्मरमा चिसो पानीमा भिजाइएको तौलिया राख्न सकिन्छ । यी उपायहरू अपनाउँदा पनि शरीरको तापक्रम घटेन भने तुरुन्तै चिकित्सक सँग सम्पर्क गर्नुपर्छ ।

प्रतिक्रिया