आइतबार, जेठ ६, २०८१

रिम्पोछे निर्देशित ‘डाकिनी’ प्रदर्शन तय

नेपालखोज २०८० वैशाख २७ गते ७:१५

काठमाडौं । अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ को नेपालमा प्रदर्शन गर्ने तय भएको छ ।

बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का सुनिने दन्त्यकथामै आधारित रहेर तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ । षट्कोण आर्टसका नेपाली निर्माताहरु रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीले यसलाई नेपाल प्रदर्शन गर्न लागेका हुन् ।

बौद्ध धर्मका ठूला गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले चलचित्रलाई निर्देशन गरेका हुन् । यो उनी निर्देशित पाँचौँ चलचित्र हो । ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको चलचित्रको छायाङ्कन पनौती र पाटनमा भएको थियो ।

चलचित्रमा छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ लगायतले अभिनय गरेका छन् । बौद्ध धर्मबारे प्रवचन दिएर चर्चामा रहेका निर्देशक रिम्पोछेले सन् १९९९ मा पहिलो चलचित्र ‘द कप’ निर्देशन गरेका थिए। विश्वभरको प्रख्यात अवार्ड एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कार अवार्ड)का सदस्यसमेत रहेका मार्क ली पिङ बिङले चलचित्रलाई छायाङ्कन गरेका थिए।

‘गुरुको नेपाल आगमनलाई केन्द्रित गर्दै प्रदर्शन तय गरेका हौँ । यो चलचित्र निर्माण गर्न पाउनु हाम्रो लागि अवसर थियो’, निर्माता बानियाँले भने, ‘विश्व प्रख्यात निर्देशक र छायाकारसँग काम गर्दा धेरै तथ्य सिक्न पाएका छौँ । विश्वका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुगेको यस चलचित्रले नेपालको विविधतलाई पनि देखाउन सफल भएको छ ।’ उनले यो काठमाडौँमै सीमित चलचित्र भवनमा मात्र प्रदर्शन हुने जानकारी दिए ।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई सपनामा केही सङ्केत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर, जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्र कथा बगेको छ ।

प्रतिक्रिया