ठुला र प्रवासी चराको जन्मदर किन घट्दै छ ?

जलवायु परिवर्तन आज यस्तो समस्या बनेको छ जसबाट विश्वका प्रायः सबै देश पीडित छन् । यो समस्याले मानिसलाई मात्र लक्षित गरेको छैन । यसले सबै जीवित प्राणी, वनस्पति तथा पारिस्थितिक प्रणालीलाई असर गरिरहेको छ। मौसममा आएको परिवर्तनले चराचुरुङ्गीलाई पनि निशाना बनाएको पाइएको छ ।
हालै गरिएको एउटा नयाँ अनुसन्धानले पनि यसको पुष्टि गरेको छ । अनुसन्धान अनुसार विगत ५० वर्षमा जलवायु परिवर्तनले विश्वभरका चराचुरुङ्गीलाई असर गरेको छ जसका कारण प्रवासी र ठुला चराका सन्तानको जन्मदर घटेको छ । योसँगै बदलिँदो मौसमबाट केही साना चराचुरुङ्गीलाई फाइदा समेत भएको कुरा पनि बाहिर आएको छ ।
विश्वभर २०१ किसिमका चराको जनसङ्ख्यामा गरिएको एक अध्ययनमा यो कुरा पुष्टि भएको छ जसलाई सन् १९७० देखि २०१९ सम्मको ५० वर्ष लामो तथ्याङ्कमा आधारित भएर अध्ययन गरिएको थियो । पछिल्ला केही अध्ययनहरूमा जलवायु परिवर्तनले चराहरूको प्रजनन समयलाई असर गरेको पुष्टि भएको छ ।
यद्यपि, यसले उनीहरूको प्रजनन दरलाई कसरी असर गरिरहेको छ भन्ने विषयमा सीमित जानकारी उपलब्ध छ । समग्रमा यो अनुसन्धानको नतिजा अनुसार चराको प्रजनन दरमा कमी आउनुको कारण जलवायु परिवर्तन नै बन्दै गएको छ । यति मात्र होइन प्रजनन दरमा आएको यो कमीले ठुला र प्रवासी चराहरूलाई बढी असर गर्छ र लामो दूरीको यात्रा नगर्ने साना चराहरूले बढ्दो तापक्रमबाट फाइदा लिन सक्छन्।
अध्ययन अनुसार अहिले ५६.७ प्रतिशत चराको प्रजनन दरमा कमी आएको छ । त्यस्तै ४३.३ प्रतिशत प्रजातिमा वृद्धि भएको छ । प्रजनन दरमा आएको यो गिरावट जलवायु परिवर्तनका प्रजातिहरूको पर्यावरणीय र जीवन-ऐतिहासिक विशेषताहरूमा पर्ने जटिल प्रभावहरूको परिणाम हो।
यो अनुसन्धानको नतिजा प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेज (PANAS) जर्नलमा प्रकाशित भएको छ। -एजेन्सी
प्रतिक्रिया