बिहीबार, जेठ २, २०८२

प्रत्येक सात सेकेन्डमा एक गर्भवती महिला वा शिशुको मृत्यु

नेपालखोज २०८० वैशाख २८ गते ६:२६

विश्व स्वास्थ्य संगठनले नयाँ प्रतिवेदनमा विगत आठ वर्षमा गर्भवती महिला, आमा र शिशुको अकाल मृत्यु कम गर्ने प्रयासमा विश्वव्यापी प्रगति रोकिएको जनाएको छ । डब्ल्यूएचओले विगत आठ वर्षमा गर्भावस्था र प्रसवका क्रममा मातृ तथा बालमृत्युदर घटाउने प्रगति स्थिर रहेको बताएको छ ।

संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदन अनुसार हालको दरमा ६० भन्दा बढी देशले सन् २०३० सम्ममा यी मृत्यु घटाउने लक्ष्य पूरा गर्नबाट टाढा छन् । प्रतिवेदनअनुसार सन् २०१५ यता वार्षिक २ लाख ९० हजार मातृमृत्यु, १९ लाख मृत शिशु र २३ लाख नवजात शिशु जन्मेको पहिलो महिनामै मृत्यु हुने गरेको छ ।

डब्ल्यूएचओले एक विज्ञप्तिमा कोभिड-१९ महामारी, गरिबी र बिग्रँदै गएको मानवीय संकटले पहिलेदेखि नै तनावग्रस्त स्वास्थ्य सेवा प्रणालीमा थप दबाब बढाएको बताएको छ। एक सयभन्दा बढी देशमा गरिएको सर्वेक्षणअनुसार प्रत्येक दशमध्ये एक देशसँग मात्रै स्वास्थ्य योजनाहरू कार्यान्वयन गर्न पर्याप्त आर्थिक स्रोत छ।

प्रतिवेदनमा हरेक वर्ष करिब ४५ लाख महिला र शिशुको गर्भावस्था, सुत्केरी वा जन्मको प्रारम्भिक हप्तामा मृत्यु हुने गरेको उल्लेख छ । यो प्रत्येक सात सेकेन्डमा हुने एउटा यस्तो मृत्यु हो, जसलाई उचित उपचारद्वारा रोक्न सकिन्छ। प्रतिवेदनमा विश्वमा सबैभन्दा बढी मातृ तथा बालमृत्युमध्ये ६० प्रतिशत १० देशमा भएको उल्लेख छ ।

भारत, नाइजेरिया तथा पाकिस्तान यी देशहरूको सूचीमा शीर्ष स्थानमा छन् । – रोयटर्स / एएफपी

प्रतिक्रिया