आइतबार, जेठ ६, २०८१

टी–२० विश्वकपको एसियाली छनोट नेपालमा

नेपालखोज २०८० वैशाख ३१ गते ८:००

काठमाडौं । टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।

नेपालले आगामी नोभेम्बर ( कार्तिक-मङ्सिर )मा हुने एसिया क्षेत्र छनोटको खेल आयोजना गर्ने जानकारी नेपाल क्रिकेट सङ्घ (क्यान) ले दिएको हो ।

अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।

यस पटक आईसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिए पनि यसअघि पूर्वाधारका कारण नेपालले ठुला प्रतियोगिता आयोजना गर्न पाएको थिएन । ती छनोट खेल कीर्तिपुर र मुलपानी मैदानमा हुनेछन् ।

टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन तथा सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई देश छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ भने समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । यो प्रतियोगिताको फाइनलमा पुग्ने देशले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया