९० लाख बालिका बालविवाहको जोखिममा : युनिसेफ

विश्वमा बालविवाहको संख्या घट्दै गएको छ तर यसको गति यति कम छ कि यो दरले बालविवाहलाई पूर्णरुपमा अन्त्य गर्न ३०० वर्ष लाग्ने छ । संयुक्त राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि काम गर्ने संस्था युनिसेफको प्रतिवेदनमा बालविवाह न्यूनीकरणमा केही प्रगति भए पनि पर्याप्त नभएको उल्लेख छ ।
प्रतिवेदन तयार गर्ने टोलीका प्रमुख क्लाउडिया क्यापा भन्छिन्, ‘हामीले बालविवाह अन्त्य गर्ने दिशामा केही प्रगति गरेका छौं, विशेष गरी विगत दश वर्षमा । दुर्भाग्यवश, यो प्रगति पर्याप्त छैन।’
युनिसेफको अनुमानअनुसार हाल विश्वमा करिब ६४ करोड विवाहित महिला छन् जसको १८ वर्षभन्दा कम उमेरमा विवाह भएको थियो । युनिसेफको अनुमान छ-हरेक वर्ष करिब १ करोड २० लाख केटीहरुको १८ वर्ष मुनिको उमेरमा विवाह हुने गरेको छ । यद्यपि पछिल्ला २५ वर्षमा यो संख्या निरन्तर घट्दै गएको छ ।
१९९७ मा २०-२४ वर्षका विवाहित महिलाहरू मध्ये २५ प्रतिशत ती थिए जसले १८ वर्षको उमेरमा विवाह गरेका थिए। २०१२ सम्म यो संख्या २३ प्रतिशतमा घट्यो भने २०२२ मा तिनीहरूको संख्या १९ प्रतिशत थियो। यसको अर्थ २०३० मा करिब ९० लाख केटीको १८ वर्ष नपुग्दै विवाह हुनेछ ।
‘यदि यो दरमा गिरावट आउने क्रम जारी रहे हामीले बालविवाह हटाउन अझै तिनसय वर्ष कुर्नुपर्ने हुन सक्छ,’ क्यापा चेतावनी दिन्छिन् । यस्तो विवाहमा अधिकांश केटीको उमेर १२ देखि १७ वर्ष छ ।
अर्को ठूलो चिन्ताको विषय
युनिसेफका अनुसार यो प्रगति पनि जोखिममा छ, विशेषगरी कोभिड–१९ का कारण जोखिम बढ्दै गएको छ । महामारीका साथ विश्वका धेरै ठाउँमा चलिरहेको युद्ध र जलवायु परिवर्तन पनि बाल बिबाहका लागि जिम्मेवार छ ।
रिपोर्टमा भनिएको छ-२०३० सम्ममा थप एक करोड नाबालिग केटीको विवाह हुनेछ । यस्ता संकटका कारण परिवारले सुरक्षाको खातिर छोराछोरीको विवाह गर्न बाध्य भएको महसुस गर्ने छन् । युनिसेफ प्रमुख क्याथरिन रसेलले भनेकि छिन्, ‘विश्व एकपछि अर्को द्वन्द्वमा फसेको छ जसले बालबालिकाको सपना चकनाचुर पार्दैछ । आजका केटीहरू स्कुल जान चाहन्छन्, दुलही बन्न चाहँदैनन् ।’
युनिसेफको प्रतिवेदनले बालविवाह स्पष्ट रूपमा बालअधिकारको उल्लङ्घन भएको बताएको छ, तर धेरै परिवारले यसलाई आर्थिक रूपमा हेेरेको छ । अहिले पनि संसारमा धेरै परिवारहरूका लागि छोरीको विवाह गर्नुको अर्थ घरमा खाने एकजना सदस्य घटनु हो । प्रतिवेदनमा भनिएको छ, ‘केटीहरूको कम उमेरमा विवाहको जोखिम धेरै बढेको छ र प्रत्येक तेस्रो केटीको विवाह १८ वर्ष नपुग्दै भैरहेको छ।’
प्रतिवेदनमा सन् २०३० सम्ममा बालविवाहको सिकार हुने बालिकाको संख्या १० प्रतिशतले बढ्न सक्ने आशंका गरिएको छ । प्रतिवेदन अनुसार बालविवाहका कारण महिला असमानताको समस्या बढ्दै गएको छ । विश्वव्यापी रूपमा केटाहरूको बालविवाह अनुपात निकै कम छ । -रोयटर्स / एपी
प्रतिक्रिया