समाजवादी निकट जनसांस्कृतिक महासङ्घकाे राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट जनसांस्कृतिक महासङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले आगामी भदौ ९ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा शनिवार सम्पन्न बैठकले अध्यक्ष कृपाराम धमलाको संयोजकत्वमा ९५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
बैठकमा प्रस्तुत गरिएको साङ्गठनिक एवं रणनीतिक प्रतिवेदनमा कलाकारिता क्षेत्रमा थप व्यवसायिकता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षासहित कलाकारको हक, हित र अधिकारको संरक्षणसम्बन्धी विषयमा छलफल भएको थियो ।
बैठकले नक्कली शरणार्थीलाई विदेश पठाउने गिरोहमाथि सरकारले सुरु गरेको कारबाही प्रक्रियाको स्वागत गरेको थियो । सङ्गठनको जिल्ला तथा प्रदेशको अवस्था, सदस्यता नवीकरण, प्रतिनिधि छनोटका मापदण्ड, कलाकारले सामाजिक रुपान्तरण, उनीहरूको अधिकार संरक्षणसम्बन्धी विषयमा छलफल गरेको अध्यक्ष धमलाले जानकारी दिए ।
शुक्रबार र शनिबार चलेको बैठकमा मोर्चा फाँटका उपप्रमुख भवेश्वर पराजुलीले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा कलाकारले सिर्जना गर्ने विषयवस्तुले समाजलाई सकारात्मक रुपान्तरण गर्न प्रभाव पार्ने बताए ।
महासङ्घका अध्यक्ष धमलाले परिवर्तनका लागि भएका लोकतान्त्रिक आन्दोलनमा कलाकारको सहभागिता रहेको भए पनि लोकतन्त्रको रक्षाका लागि पुनः कलाकार एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया