आइतबार, असार २२, २०८२

कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन

नेपालखोज २०८० वैशाख ३१ गते १७:५९

खोटाङ । चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायी काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन भएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रको जिम्मा भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाही जेभी काठमाडौंंले लिएको थियो ।

निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि गत चैत २५ गतेयता चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रको काम ठप्प छ । काम अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायी हाल सम्पर्कमा नरहेको मध्यपहाडी लोकमार्ग योजनाको कार्यालय, धुलिखेलका इन्जिनियर दीपेश मनकर्मीले जानकारी दिए ।

कालोपत्रको काममा ढिलासुस्ती भएको भन्दै आयोजना कार्यालयले विसं २०७९ मङ्सिरमा ठेक्का तोड्न सिफारिस गरेलगत्तै काममा फर्किएका निर्माण व्यवसायी पुनः सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले बताएका छन् । निर्माण व्यवसायीले कालोपत्रको काम पूरा गर्ने छाँट नदेखाएका कारण कार्यालयले ठेक्का तोड्नका लागि गत मङ्सिर–१८ गते सडक विभागसमक्ष सिफारिस गरिएको थियो ।

ठेक्का तोड्न सिफारिस गरेपछि ठेक्का जोगाउन सम्पर्कमा आएका व्यवसायीले कल्भर्ट, स्ट्रक्चर, सब–बेस राख्ने लगायतका काम सुरु गरेको थियो । तर केही समय काम गरे झैँ गरेका व्यवसायी निर्माणस्थलबाट कसैले पत्तो नपाइ हिँडेको हो ।

प्रतिक्रिया