विश्वमा बढ्दै खाद्य संकट

काठमाडाैं । सन् २०२० मा विश्वका ५५ देशका करिब १५ करोड ५० लाख मानिसले गम्भीर खाद्य संकटको सामना गरे , जुन अघिल्लो वर्षको तुलनामा २ करोड बढी हो । यसअघि २०१९ मा करिब १३.५ करोड मानिसले खाद्य संकटको सामना गरिरहेका थिए। संयुक्त राष्ट्र संघको प्रतिवेदन ग्लोबल रिपोर्ट अन फूड क्राइसिसमा यो जानकारी दिइएको हो । प्रतिवेदन अनुसार गम्भीर खाद्य संकटको सामना गरिरहेका व्यक्तिको संख्या पछिल्लो पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
खाद्य सुरक्षाको अवस्था हेर्दा अफ्रिकाको अवस्था सबैभन्दा खराब छ । खाद्य संकटमा परेका प्रत्येक तीनमध्ये दुईजना अफ्रिकाका छन् । अफ्रिका महादेशमा मात्र ९ करोड ८० लाख मानिसले खाद्य संकटको सामना गरिरहेका छन । यता यमन, अफगानिस्तान, हाइटी र सिरिया जस्ता देशको अवस्था पनि खासै राम्रो छैन । यी सबै देशहरू गम्भीर खाद्य संकट सामना गरिरहेका शीर्ष १० देशहरूमा पनि परेका छन्। यसैगरि बुर्किना फासो, दक्षिण सुडान र यमनका करिब १,३३,००० मानिसको अवस्था सबैभन्दा खराब छ जसलाई भोकमरीबाट बचाउन तत्काल मद्दत चाहिन्छ। यदि त्यसो हुन सकेन भने उनीहरुको जीवन र जीविकोपार्जन खतरामा पर्नेछ ।
यो प्रतिवेदनमा समावेश ५५ देशको कुरा गर्ने हो भने त्यहाँ बसोबास गर्ने बालबालिकाको अवस्था पनि खासै राम्रो छैन, उनीहरू यो खाद्य संकटको दबाबमा छन् । त्यहाँ बस्ने ५ वर्ष मुनिका करिब ७.५ करोड बालबालिका कुपोषणको सिकार छन् । यसको अर्थ तिनीहरू आफ्नो उमेरका अन्य बच्चाहरूको तुलनामा धेरै कमजोर , पातला र पुडका हुनु हो । जलवायु परिवर्तन, कोभिड–१९ र द्वन्द्वका कारण अवस्था बिग्रियो प्रतिवेदन अनुसार जलवायु परिवर्तन, द्वन्द्व र कोरोना महामारीका कारण उत्पन्न आर्थिक मन्दीले यो गम्भीर खाद्य असुरक्षाको अवस्थालाई अझ बढाएको छ ।
रिपोर्ट अनुसार यो खाद्य संकटको सबैभन्दा ठूलो कारण आपसी द्वन्द्व र तनाव हो जसका कारण करिब १० करोड मानिस प्रभावित छन् । जलवायु परिवर्तन र त्यसबाट निम्तिएको प्रकोप खाद्य सङ्कटको दोस्रो ठूलो कारण हो । कोरोना महामारीका कारण उत्पन्न आर्थिक संकटका कारण १७ देशका करिब ४ करोड मानिस खाद्य संकटको सामना गर्न बाध्य भएका थिए । जसरी विभिन्न कारणले विश्वभरको अर्थतन्त्रलाई नोक्सान पुर्याएको छ जसका कारण खाद्यान्न संकट आगामी दिनमा थप बढ्नेछ । यस्तो अवस्थामा सन् २०३० सम्ममा ८५० करोड जनसङ्ख्यालाई खाना र पोषण दिन पहिलेभन्दा बढि ध्यान दिनुपर्ने हुन्छ ।
प्रतिक्रिया