आइतबार, असार २२, २०८२

तिब्बती महिलामाथि भेदभाव गरेको आरोप

नेपालखोज २०८० जेठ २ गते १८:०३

ल्हासा । तिब्बती महिलाहरूको अवस्थालाई लिएर चिन्तित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति सिइडिएडब्ल्युले चीनलाई प्रश्न गरेको छ ।

सिइडिएडब्ल्यु महासन्धिका प्रावधान कार्यान्वयनको जिम्मेवारीमा रहेको उक्त समितिले न्युयोर्कमा हालै सम्पन्न बैठकमा तिब्बती महिलाका अधिकार तथा हितका बारेमा गहिरो चासो व्यक्त गरेको तिब्बत अधिकार समूह तिब्बत राइट्स कलेक्टिभले जनाएको छ ।

तिब्बतमा बस्ने महिलाको लैङ्गिक समानता, स्वास्थ्य सेवा तथा शैक्षिक पहुँच, राजनीतिक संलग्नता, धार्मिक एवम् सांस्कृतिक अधिकार संरक्षणलगायत विषयमा चीन सरकारसँग जवाफ मागेको छ ।

गत साता भएको उक्त बैठकमा महिला हकअधिकार संरक्षणसम्बन्धी तिब्बत ब्युरो र तिब्बती महिला सङ्घले तिब्बतमा महिलाले झेल्नुपरेका समस्याबारे जानकारी दिएका थिए । बैठकमा ती संस्थाका प्रतिनिधिले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

मानवअधिकार समूहले उठाएका विषयमा चीन सरकारका तर्फबाट समितिलाई जवाफ दिँदै सिइडिएडब्ल्युका प्रतिनिधिले लैङ्गिक समानता सुनिश्चित गर्न, तिब्बती महिलाको अवस्थामा सुधार ल्याउन, महिला अधिकार सुदृढ तुल्याउन तथा उनीहरूलाई थप अधिकार दिने प्रयास भइरहेको बताएका थिए ।

तिब्बत राइट्स कलेक्टिभले तिब्बती महिलाका समस्या समाधानमा गम्भीर हुन चीन सरकारलाई आह्वान गर्दै उनीहरूका सीमित आर्थिक विकल्पका साथै सांस्कृतिक एकीककरण, समानताको सुनिश्चिततातर्फ ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया