आजदेखि छैटौँ चेम्बर एक्स्पो

नेपालखोज २०८० जेठ ४ गते ६:५५

काठमाडाैं । निजी व्यवसायीहरूको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि छैटौँ चेम्बर एक्स्पो संचालनमा आउँदै छ । काठमाडौंको भृकुटीमण्डमा हुने एक्स्पो जेठ ८ गतेसम्म चल्ने चेम्बरले जनाएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले एक्स्पोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तु राखिने जानकारी दिए ।

एक्स्पोमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान एवं नेपाली वस्तुको बजारीकरणमा जोड दिइने छ । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका व्यापार मेला तथा प्रदर्शनीले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधि प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्ल बताउँछन् ।

‘बाह्य व्यापारिक समुदायसँग सहकार्य गरी स्वदेशी उद्यमी व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न एक्स्पो प्रभावकारी हुनेछ’, उनले भने । एक्स्पोमा नेपाली हस्तकलाका उत्पादन, घरेलु तथा खाद्यान्न सामग्री, जडीबुटीजन्य वस्तु प्रदर्शनी गरिने छ ।

यस्तै अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुसमेत प्रदर्शनीमा राखिनेछन् । मेलामा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीको कक्ष राखिने छ ।

प्रतिक्रिया