बंगलादेशको गरिब जनसंख्याको आधाभन्दा बढीले थप गरिबी भाेग्दै

ढाका । कोभिड–१९ महामारीका कारण सन् २०२२ मा ५१ प्रतिशत गरिब जनता थप गरिबीमा धकेलिएको बंगलादेशको अग्रणी थिंक ट्यांकले बुधबार जनाएको छ । बंगलादेशको स्वायत्त बहु–अनुशासनात्मक सार्वजनिक अनुसन्धान संस्था बंगलादेश इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज (बीआईडीएस) ले गरेको एक सर्वेक्षणअनुसार बंगलादेशको राजधानी ढाकाजस्तो सहरमा पनि सहरी दीर्घकालीन गरिबी अझै पनि उल्लेखनीय स्तरमा छ ।
बिड्सले बुधबार ढाकामा आयोजित बिड्स रिसर्च अल्मानेक–२०२३ मा उक्त जानकारी दिएको हो । बिड्सका महानिर्देशक विनायक सेनले विकासलाई दिगो बनाउन जनताको संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने बताए । कोभिड–१९ को महामारीले मुलुकको अर्थतन्त्रमा पारेको असरका कारण नयाँ सामाजिक वर्गको उदय भइरहेको प्रमाणले देखाएको उनले बताए ।
उनले सहरी जनसङ्ख्याको करिब एक दशांस भाग यही वर्गमा पर्ने बताए । यसअघि विज्ञहरूले बङ्गलादेशले गरिबी निवारणमा ५० वर्ष पुग्दा हासिल गरेको सफलता पनि महामारीका बेला कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेकाले गुमेकोे बताएका थिए । रूस–युक्रेन द्वन्द्वकाबीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न चार करोड मानिसको ठूलो हिस्साले रोजगारी गुमाएको उनीहरूले बताएका छन् । rss
प्रतिक्रिया