बिहीबार, जेठ ३, २०८१

पदक विजेता मुक्केवाज सम्मानित

नेपालखोज २०८० जेठ ४ गते १७:४४

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशले एएसबिसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ ।

गत जनवरी १८ देखि २६ तारिखसम्म थाइल्याण्डको बैङ्ककमा भएको उक्त प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कास्यपदक जितेका थिए । पुरुष ८६ केजीमा विजय बाटाले नेपाललाई कास्यपदक दिलाएका थिए ।

सम्मानस्वरुप सुष्माले २० हजार पुरस्कार पाईन् । सुष्माले जितेको रजत पदक नेपाली बक्सिङको इतिहासमा सबैभन्दा ठूलो पदक हो । बाँकी कास्यपदक विजेताले जनही १० हजार पुरस्कार पाए । झापाकी त्रिशा भने प्राविधिक कारणले कार्यक्रममा उपस्थित भईनन् ।

सो प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दीप श्रेष्ठ पनि जनही रु पाँच हजार नगदसहित सम्मानित भए भने व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।

सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुर्याएवापत प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तण्डुकार पनि सम्मानित भए ।

उनीहरूलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, बागमती प्रदेशकी सांसद मीना पराजुली, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घले, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच नगद र प्रशंसापत्र प्रदान गरे ।

खेलकुदमन्त्री लिम्बूले खेलकुदलाई माथि उठाउन सक्दो र इमान्दार प्रयास गर्ने बताए । त्यस्तै नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशका अध्यक्ष गुरुङले खेलाडीको हौसला अभिवृद्धि गर्न सङ्घले खेलाडीलाई सम्मान गरेको बताए ।

प्रतिक्रिया