आर्थिक सङ्कट समाधान गर्न दुवै मुलुकबीच सहकार्य आवश्यक छ : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिले देखापरेको आर्थिक तरलताको समस्यालाई समाधान गर्न नेपाल र भारतबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।
वीरगञ्जमा जारी ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ लाई आज सम्बोधन गर्नुहुँदै मन्त्री रिजालले नेपाल र भारतबीच सनतातनकालदेखि नै सम्बन्ध अत्यन्तै सुमधुर रहेकाले आर्थिक तरलताको वर्तमान समस्यालाई समाधान गर्न दुवै मुलुकले आपसमा सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने बताए ।
नेपाल र भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई नयाँ ढङ्गबाट अघि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री रिजालले नेपालमा नीतिगत र विधिगतरूपमा लगानी गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । वर्तमान आर्थिक सङ्कटलाई समाधान गर्न निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने उल्लेख गर्दै उनले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न चाहेको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य अजय चौरसियाले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गर्दै निर्यातमुखी अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताए। नेपाल एसबीआई बैंक, नेपाल–भारत उद्योग वाणिज्य सङ्घ वीरगञ्ज च्याप्टर, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र द स्टार्टअप नेटवर्कको सहकार्यमा पिएचडी च्याम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीसँगै सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।
प्रतिक्रिया