सुर्तीजन्य पदार्थको कर बढाएर विपन्नको निःशुल्क उपचार : स्वास्थ्यमन्त्री बस्नेत

नेपालखोज २०८० जेठ ४ गते २१:५७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउन सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने बताएका छन् ।

आज सिन्धुपाल्चाेकमा एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गर्दै उनले विपन्न नागरिकको सहज र निःशुल्क स्वास्थ्योपचारमा पहुँच पुर्याउनका लागि सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न आवश्यक रहेको बताए।

‘विपन्न नागरिकको उपचार जिम्मेवारी सरकारले लिनुपर्छ । तर स्वयं मन्त्रालयसँग बिरामीलाई सहयोग गर्न रकम छैन’, उनले भने, ‘त्यसैले सुर्तीजन्य पदार्थमा कर ह्वात्तै बढाएर त्यसबाट प्राप्त रकमलाई कोषको रूपमा खडा गरेर बिरामीको उपचारका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव गरेको छु । छिट्टै स्वीकृत भएर काम अघि बढ्नेछ ।’

मन्त्री बस्नेतले स्वास्थ्यमा बजेट बढाउन निरन्तर पहल गरिरहेको दाबीसमेत गरे । उनले भने, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङमा घटेर आयो । म आएपछि, मन्त्रालयको टोलीले नै अर्थ मन्त्रालयमा अनुरोध गरेपछि सात अर्ब बजेट थप्न सकेका छौँ ।’

उनले एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत गरे। सामुदायिक अस्पतालको स्तरोन्नति गर्न आफू लागिपरेको भन्दै मन्त्री बस्नेतले धुलिखेल सामुदायिक अस्पताललाई ट्रमा अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।

सुनकोसी गाउँपालिका र एक–एक पाइला फाउण्डेशनको साझेदारीमा सञ्चालित अस्पताल गत साउनदेखि सञ्चालनमा आएको हो ।

प्रतिक्रिया