आइतबार, असार २२, २०८२

विधेयक निष्कर्षमा पुर्‍याउन उपसमिति गठन

नेपालखोज २०८० जेठ ५ गते १५:४५

काठमाडौं । कानुन न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई निष्कर्षमा पुर्‍याउन उपसमिति गठन गरेको छ ।

समितिको आज बसेको बैठकले ११ सदस्य उपसमिति गठन गरेको हो । उपसमितिमा सांसद सुवासचन्द्र नेम्वाङ, महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ (सापकोटा), पूर्णबहादुर घर्ती, रन्जुकुमारी झा, धुव्रबहादुर प्रधान, शेरबहादुर कुँवर रहेको समितिका ज्येष्ठ सदस्य सभापति मङ्गलप्रसाद गुप्ताले जानकारी दिए ।

विधेयकका सम्बन्धमा संशोधनकर्ता तथा सरोकारवालासँग छलफल गरी दफावार छलफलसमेत गरेर उपसमितिले कार्यप्रारम्भ गरेको तीन साताभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न सभापतिले उपसमितिलाई निर्देशन दिएका छन् ।

बैठकमा सुवासचन्द्र नेम्वाङले विधेयकलाई निष्कर्षमा पुर्याउन सबै पक्ष एकताबद्ध हुन जरुरी रहेको बताए । ‘यो यस्तो विषय हो जसमा सिङ्गो देश एक हुनुपर्छ । मुलुकमा द्वन्द्व पुनरावृत्ति नहोस् भन्नकै लागि शान्ति प्रक्रियाको कार्यलाई निष्कर्षमा पुर्‍याउन सबै एकजुट हौँ’, उनले भने ।

सांसद रमेश लेखकले विधेयकलाई निष्कर्षमा पुर्‍याउन उपसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भनी समितिमा उपसमिति गठन गर्ने प्रस्ताव गरेका थिए । पीडित, नागरिक समाज, मानवअधिकार आयोगलगायत सम्बन्धित आयोगसँग छलफल गरी कार्यलाई तीव्रता दिई निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै सांसद सोबिता गौतमले न्याय दिनका लागि ढिलाइ गर्नु भनेको अन्याय गर्नु भएकाले राजनीतिक स्वार्थभन्दा बाहिर रहेर ऐतिहासिक जिम्मेवारीलाई निश्चित समयावधिमा निष्कर्षमा पुग्नुपर्ने बताईन् ।

कानुन न्याय तथा संसदीय मन्त्रालयका सचिव धनराज ज्ञवालीले संशोधन विधेयकमा विज्ञ, सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरेमा प्रभावकारी हुने बताउँदै समितिका सदस्यको छिट्टै निष्कर्षमा पुर्‍याऔँ भन्ने सहमति एकताबद्धको सन्देश रहेको बताए ।

प्रतिक्रिया