सोमबार, वैशाख १७, २०८१

राजस्थानले अन्तिम ओभरमा पञ्जाब किंग्सलाई हरायो

नेपालखोज २०८० जेठ ६ गते ५:५९

काठमाडाैं । राजस्थान रोयल्सले आईपीएल २०२३ को आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्सलाई चार विकेटले पराजित गर्दै प्लेअफको आशा जीवित राखेको छ। यो खेलको नतिजा अन्तिम ओभरमा आयो जहाँ ध्रुव जुरेलले छक्का प्रहार गर्दै राजस्थान रोयल्सलाई जित दिलाए । यो हारसँगै पञ्जाब किंग्सको प्लेअफ पुग्ने बाटो समाप्त भएको छ । अर्कातर्फ राजस्थान रोयल्स अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ र प्लेअफमा पुग्ने उसको सम्भावना अन्य टिमको हारमा निर्भर छ ।

पञ्जाब किंग्सले पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सले ओपनर यशस्वी जैसवाल, देवदत्त पडिक्कल र शिमरोन हेटमायरको बलियो ब्याटिङको मद्दतले खेल जित्यो । यशस्वी जैसवाल (५०) र देवदत्त पडिक्कल (५१)ले अर्धशतकीय पारी खेले भने शिमरोन हेटमायरले २८ बलमा ४६ रनको बहुमूल्य इनिङ्स खेले ।

अर्धशतकीय खेलका लागि देवदत्त पडिक्कल प्लेयर अफ द म्याच घोषित भए। उनले ३० बलमा पाँच चौका तथा तीन छक्का प्रहार गर्दै ५१ रनको इनिङ खेले। यसअघि पञ्जाब किंग्सका ब्याट्सम्यान शाहरुख खान र साम करेनले अन्तिम दुई ओभरमा ४६ रन बनाएर राजस्थान रोयल्सलाई जितका लागि १८८ रनको लक्ष्य दिएका थिए। दुवै ब्याट्सम्यान अन्तिमसम्म नटआउट रहे । शाहरुख खानले २३ बलमा ४१ रन बनाए भने साम करेनले ३१ बलमा ४९ रन बनाए । टस जितेर राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले पञ्जाब किंग्सका कप्तान शिखर धवनलाई पहिले ब्याटिङ गर्न आग्रह गरेका थिए ।

आईपीएलको यो ६६ औं लिग खेल हिमाचल प्रदेशको धर्मशालामा खेलिएको थियो । यो हारसँगै पञ्जाब किंग्सको प्लेअफको सम्भावना समाप्त भएको छ भने राजस्थान रोयल्सको अगाडिको बाटो पनि सहज छैन । अंक तालिकाको शीर्ष स्थानमा गुजरात जाइन्ट्स छ, जुन प्लेअफ चरणमा पुग्ने एकमात्र टिम हो ।

राजस्थान रोयल्सको अहिले १४ अंक छ र उसको नेट रन रेट ०.१४८ छ भने चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्सको १५-१५ अंक छ । अर्कातर्फ मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरको राजस्थान रोयल्सको समान १४ अंक छ । त्यसैले प्लेअफमा पुग्न राजस्थान रोयल्सले अब यी दुई टिमबीच आइतबार हुने खेलको नतिजामा भर पर्नु पर्नेछ ।

प्रतिक्रिया