आइतबार, वैशाख २३, २०८१

बूढानीलकण्ठमा वृत्ति विकास तथा रोजगार मेला

नेपालखोज २०८० जेठ ६ गते ९:३९

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला गर्ने भएको छ । ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गर्न लागेको हो ।

आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

नगर प्रमुख मिठाराम अधिकारीले पढ्दै गरेका विद्यार्थी तथा युवा लक्षित गरी उनीहरुलाई समयमै रोजगारी प्रदान गर्ने उद्देश्यले नगरपालिकाले रोजगार मेला गर्न लागेको बताए । उनले भने, ‘किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्नमुलुक जाने गरेका छन्, न उनीहरु खुसी छन्, नत परिवार नै खुसी छ, त्यसकारण स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको हो ।’

आफ्नो मार्ग पहिचान गर्न, दीगो तथा सम्मानित रोजगारीका लागि सीप सिक्न, सीप सिकिसकेकाले रोजगारी प्राप्त गर्न, व्यवसायीले आफ्नो व्यसायअनुसारको जनशक्ति खोजी गर्न मेला आवश्यक रहेको नगर प्रमुख अधिकारीले बताए । मेला यही जेठ ६ र ७ गते नगरपालिका परिसरमा बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने नगरपालिकाले जनाएको छ ।

ज्ञान र सीप भएर पनि काम नगरी बसेका युवालाई मध्यनजर गर्दै नगरपालिकाले रोजगार मेला आयोजनाको तयारी गरेको हो । यो रोजगार मेलामा १० हजार युवाले सहभागीता जनाउने अनुमान गरिएको नगर प्रवक्ता नवराज भट्टराईले दिए ।

मेलामा उद्योग व्यवसायबाट १६, शैक्षिक सङ्घसंस्थाबाट पाँच, प्राविधिक शिक्षलयबाट १०, सामाजिक विकास मन्त्रालय दीगो विकास तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रोबाट एक र नगरभित्रका विभिन्न व्यवसाय चार गरी कूल ४४ स्टल राखिने छन् । मेला जेठ ६ र ७ गते नगरपालिका परिसरमा बिहान ७ देखि बेलुका ५ बजेसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया