चितवनको हाँसका परिकार काठमाडौंका भोजमा

चितवन । सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाजबाट काठमाडौंका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।
सौराहाका कमान्डरले यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाडौंका भोज र घरमा पुर्याउँदै आएका छन् । सौराहामा कमान्डरका नामबाट परिचित नेपाली सेनाका निवृत्त नायक हरेराम महतो अहिले नियमित हाँसका परिकार बनाए ।
उनको रेस्टुरेन्टमा पुगेर खानेहरू त हुन्छन् नै देशका विभिन्न भागबाट माग गर्नेको पनि कमी हुँदैन । उनले पूर्वको इटहरीदेखि काठमाडौंसम्म हाँसका परिकार तयार पारेर पठाउँदै आएका छन् । पछिल्लो समय बनेका परिकार जहाजबाट उनले पठाउने गर्छन् । पैसा अनलाइन सेवामार्फत उनको खातामा आउँछ । साँझपख उनका पाँच वटै कटेज भरिएर आँगनमा पाहुना हाँसका परिकारमा रमाउने गर्दछन् ।
कोभिडपछि व्यापार घटेको दुखेसो उनको छ । अन्ठाउन्न वर्षीय कमान्डर लाई अबका दिन विगत जस्तो काम गर्ने जाँगर भने छैन । विगत सम्झँदै उनले भने, ‘एकै दिन १२ वटासम्म हाँसका परिकार बनाएर काठमाडौं पठाएँ, रेस्टुराँमा २४ वटासम्म हाँस बनाएर पाहुनालाई खुवाएको छु ।’
जिउँदो हाँसलाई काटेर सालको दाउराको आगोमा पोलेर हड्डी छुटाएर आफैले सिलौटामा पिनेको मसलामा पकाएको हाँसको स्वाद धेरैले मन पराएको उनले बताए । छुटाएको हड्डीलाई मिठो हुने गरी उनले सुप बनाए । बाहिर पठाउँदा मसला मोलेको तयारी मासु र हड्डी छुट्टाछुट्टै उनले पठाउने गर्छन् ।
उनले भने, ‘सालबाहेकका दाउरा प्रयोग गर्दिन, बजारको मसला राख्दिन ।’ अदुवा र लसुनको लेदोले उनले बनाएको हाँसको छोइलाको स्वाद धेरैलाई मन पर्ने गर्दछ । हाँससँगै उहाँले स्थानीय खोलामा पाइने माछा र स्थानीय जातका कुखुराका परिकार पनि खुवाउछन् । उनसँगै श्रीमती, तीन छोरा, दुई बुहारी सँगसँगै काम गर्छन् । भर्खरै मात्र छोरीको विवाह भएकाले काम गर्न छाडेको उनले बताए । उनले भने ‘सबै परिवार मिलेर काम गर्छौ ।’
कमान्डर को आफ्नै जीवन कथा छ । नेपाली सेनामा १६ वर्ष सेवापछि वि.सं २०५४ मा निवृत्त भएसँगै उनको पेसा रेस्टुराँ बन्यो । भरतपुरको गीता नगरमा जन्मिएका उनले निवृत्त जीवनसँगै सौराहामा रेस्टुराँ सुरु गरे ।
चरम द्वन्द्वको समयमा हतियार खेलाउन जानेका कमान्डर लाई माओवादीले सँगै लैजाने डरले भागेर उनले बुटवल र वीरगन्जमा लुकेर गार्डमा काम गरे । द्वन्द्व मत्थर भएपछि पुनः सौराहा फर्किएर उनले थप सङ्घर्ष गरे ।
जेनतेन श्रीमतीले धानेको रेस्टुरेन्टलाई राम्रो बनाएर सौराहाको हात्ती चोक वरिपरि चार ठाउँमा सर्दै रेस्टुरेन्ट चलाए । त्यहाँ बचाएको रकमले उनले हात्ती चोक भित्र पट्टी ३८ धुर जमिन पनि किने ।
त्यही जमिनमा अहिले उनको घरसहितको कटेज छ । यही कटेजबाट विसं २०७३ देखि उनको रेस्टुरेन्ट सञ्चालन हुँदै आएको छ । त्यहाँ कहिले रु ४५ हजारसम्मको व्यापार हुन्छ भने कहिले केही पनि हुँदैन ।
थारु जातिको परम्परागत स्वादका पारखीका लागि कमान्डर को रेस्टुराँ रोजाइ बन्ने गरेको छ । चितवन र बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकसमेत यहाँ हाँसको परिकारमा रमाउन पुग्ने गर्दछन् ।

प्रतिक्रिया