डाक्टर मृत भेटिएको घटनामा दुई युवक प्रहरी नियन्त्रणमा

काठमाडौं । धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएका अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माया मेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको हो ।
डाक्टर शाह बिहीबार घरमै मृत फेला परेपछि परिवारले भट्टराई र धनगढीकै विकल केसी विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दिएका थिए । केसी पहिले नै प्रहरीको सम्पर्कमा पुगे पनि भट्टराईलाई भने प्रहरीले समातेको थिएन ।
मृतक शाहका परिवारले दुवै जनालाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग राखे पनि कैलाली प्रहरीले शनिवार दिउँसोसम्म भट्टराईलाई समात्न नसकेको भन्दै गुनासो गरेका थिए ।
घटनामा नाम जोडिएका व्यक्ति बाहिर बस्दा प्रमाण मेटाउन सक्ने भन्दै तत्काल पक्राउ गरेर अनुसन्धान थाल्न परिवारले माग गर्दै आएका थिए ।
भट्टराई साँझ साढे चार बजे प्रहरी नियन्त्रण आइसकेको कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले जनाए ।
केसी र भट्टराई विरुद्ध किटानी जाहेरी आएकाले दुवै जनालाई हिरासतमा राखेर कानुनअनुसार अनुसन्धान थालिने प्रहरी उपरीक्षक पालले बताएका छन् ।
प्रतिक्रिया