शिलान्यास भएको १२ वर्षपछि बन्यो बौद्ध विहार

काठमाडाैं । शिलान्यास भएको १२ वर्षपछि गलकोट नगरपालिका वडा नं ११ रिघाको उदय रिघा बौद्ध विहार निर्माण पूरा भएको छ । स्थानीय शेरबहादुर घर्तीले रिघामा बौद्ध धर्मको प्रचारप्रसार तथा प्रवर्द्धन गर्दै रिघालाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि १२ वर्षअघि यसको शिलान्यास गरेका थिए ।
उक्त स्थनामा बौद्ध गुम्बा, सत्तल तथा प्रवेशद्वार निर्माण गरिएको विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्तीले बताए । युके, ब्रुनाईलगायतका देशमा रोजगारीका लागि जानेबाट प्राप्त सहयोग, सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट आएको बजेटले विहार निर्माण पूरा भएको हो ।
विहार निर्माणका लागि गलकोट नगरपालिकाको रु १२ लाख, सांसद विकास कोषबाट रु १० लाख, गण्डकी प्रदेश सरकारबाट रु आठ लाख, वडा कार्यालयबाट तीन लाख प्राप्त भएको थियो । साथै रिघा घर भई देशविदेशमा रहनुभएकाबाट रु ८० लाख सहयोग प्राप्त भएको थियो ।
गुम्बालाई ध्यान तथा योगस्थलका रुपमा विकास गरी पर्यटकीय गतिविधि बढाउने उद्देश्य लिइएको गलकोट नगरपालिका–११ रिघाका वडाध्यक्ष डम्मर श्रीसको भनाइ छ । अग्लो डाँडामा रहेको विहार प्राकृतिक मनोरमको दृष्टिकोणलेसमेत महत्वपूर्ण छ । विहारको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गरेका छन् ।

प्रतिक्रिया