मंगलबार, असोज १, २०८१

बैंक तथा वित्तीय संस्थालाई कारबाही

नेपालखोज २०८० जेठ ८ गते १७:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले चारवटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

बैंकअन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ ।

केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाहीस्वरुप नगद जरिवाना गरेको हो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौँ पटक र सालपा विकास बैंकलाई प्रथम पटक कारबाही गरिएको छ ।

यस्तै, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई पहिलो, दोस्रो र तेस्रो पटक कारबाही गरिएको छ । राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई एक लाख ९६ हजार २६५.३०, सालपा विकास बैंकलाई एक लाख १० हजार ६६२.२६, नारायणी डेभलपमेन्ट बैंकलाई दुई लाख ५१ हजार ३२४.७३ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६३५.५७ नगद जरिवाना गरेको हो ।

यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई पहिलो पटक तीन हजार ९४८.५३, दोस्रो पटक रु ६३ हजार ७८२.७८ र तेस्रो पटक एक एक लाख आठ हजार ७७०.२१ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तैगरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मल्टिपर्पस फाइनान्सलाई अनिवार्य नगद मौज्दात अनुपात नपुर्याएको भन्दै दुई हजार ७०१.०३ जरिवाना गरिएको छ ।

प्रतिक्रिया