शनिबार, वैशाख ८, २०८१

गीतकार संघले स्रष्टा सम्मान तथा पुरस्कार वितरण गर्ने

नेपालखोज २०८० जेठ ८ गते २२:२०

काठमाडौं । गीतकार संघ नेपालले स्थापना दिवसको अवसरमा स्रष्टा सम्मान तथा पुरस्कार वितरण गर्ने भएको छ । वैशाख २९ र जेठ ५ गते बसेको बैठकले जेठ १४ गते स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण गर्ने निर्णय गरेको हो ।

संघले ‘अमर–भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७९’ सम्मान गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ । श्रेष्ठलाई नगद एक लाख ५१ हजारसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिनेछ ।

त्यस्तै, ‘डायस्पोरा गीतकार सम्मान–२०७९’बाट अमेरिकाबाट गीत लेखनमा योगदान गरेका खेम रिजाललाई नगद १५ हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिने महासचिव टिका राई (शिव)ले जानकारी दिए ।

संघले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार नगद २५ हजार २५२ रुपैयाँसहित प्रमाणपत्र र दोसल्ला ओढाएर लिम्बु भाषाका गीतकार भगत सुब्बालाई ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान–२०७९’ र राष्ट्रिय गानका रचयीता प्रदिप कुमार राई (ब्याकुल माइला)लाई नगद १५ हजारसहित ‘गीतकार विशेष सम्मान’ प्रदान गरिने छ ।

संघले ‘भैरवनाथ रिमाल (कदम)वर्ष गीत पुरस्कार’का लागि १० गीत र ‘जगत मर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार’का लागि ३ गीति पुस्तक र स्रष्टाको नाम सार्वजनिक समेत गरेको छ ।

प्रतिक्रिया