अर्थमन्त्री डा.महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को एसिया, युरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
भेटका क्रममा एमसिसी परियोजनाको कार्यान्वयनबारे छलफल भयो । भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो ।
एमसिसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगस्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्व तयारीका अवस्थाको बारेमा जानकारी लिन एमसिसिका पदाधिकारीको भ्रमण भएको हो ।
भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्व तयारीका काममा भएको प्रगति प्रति सन्तोष व्यक्त गरे । त्यसै गरी, सम्झौता कार्यान्वयनमा जानु पूर्व सम्पन्न भई सक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षबिच विस्तृत छलफल भयो ।
सो अवसरमा, अर्थमन्त्री डा. महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुका साथै आयोजना चक्रमा आउने महत्त्वपूर्ण विषयहरूलाई कानुनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुङ्ग्याउने प्रतिबद्धता जनाए ।
मन्त्री डा. महतले एमसिसी आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसिसिका पदाधिकारीलाई नेपाल भ्रमण गरी छलफल गरेकोमा धन्यवाद व्यक्त गरे ।
प्रतिक्रिया